मुग्लिन– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको अवस्थामा अझै परिवर्तन नभएको बताएका छन् । बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठुलो त्याग र बलिदानबाट राजनीतिक परिवर्तन भए पनि अझै जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।
अध्यक्ष दाहालले भने, ‘नेपाली जनताले बारम्बारको त्याग र बलिदान गरेर राजनीतिक परिवर्तन गरेका छन्, तर जनताको अवस्थामा अझै परिवर्तन हुन सकिरहेको छैन ।’
ठुलो त्यागबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र २०७२ को नयाँ संविधान र त्यस संविधानमा विभिन्न उत्पीडित जातजाति, उत्पीडित वर्ग, लिंग, क्षेत्र र समुदायका जनताको मौलिक हक अधिकार शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायतका सवालमा प्रस्ट व्यवस्था भए अझै खासै उपभोग गर्न नपाउँदा जनतामा निराशा बढिरहेको उनको भनाइ छ ।
जनताको सम्पूर्ण मौलिक हक अधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन आवश्यक ऐन कानुन बन्न नसकेको उनले बताए । आफू ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर कैयौँ व्यावहारिक कानुनी जटिलताका कारण सोचे जस्तो काम हुन नसकेको उनले बताए ।
शुक्रवारदेखि सुरु हुने हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन, निजामती ऐन, प्रहरी समायोजन ऐनलगायत महत्त्वपूर्ण दर्जनौँ ऐन पारित हुने विश्वास व्यक्त गरे ।
उनले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए ।
स्थानीय तहको नेतृत्वमा अभिभावकको प्रत्यक्ष रेखदेख र सक्रिय सहभागिता नपुगेसम्म शिक्षाको विकास नहुने उनको भनाइ छ ।
गाउँपालिकाले शिक्षाका लागि सञ्चालन गरेको अभियान सराहनीय भएको र यस अभियानमा धादिङ जिल्लासहित छिमेकी जिल्लाबाट साथ सहयोग हुने विश्वास व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले सीमान्तकृत, दलित आर्थिक विपन्नताका कारण विद्यालय जान नसक्ने बालबालिकाहरूको शिक्षाका लागि गाउँपालिकाले आवासीय विद्यालय सञ्चालन गरिरहेको बताए ।
ती बालबालिकाको शिक्षाका लागि कोष खडा गर्न लागि ‘शिक्षाका लागि भिक्षा अभियान’ सञ्चालन गरिएको उनको भनाइ थियो । सोही अभियानअन्तर्गत २३ गतेसम्म महायज्ञ सञ्चालन गरिएको छ ।
महायत्रमा राधिका दासले कथा वाचन गर्नेछिन् ।