रौतहट– फतुवा बिजयपुर नगरपालिकाका अधिकांश वडा कार्यालय अझै पनि भाडाको भवनमा सञ्चालन भइरहेका छन्। आफ्नै भवनको अभावका कारण सेवाग्राहीहरूलाई दैनिक कामकाजमा असहज भइरहेको छ। नगरपालिकाका वडा नम्बर १, ३, ६, र १० का कार्यालयहरू भाडाको कोठामा सीमित रहँदा नागरिकले सहज रूपमा सेवा लिन सकिरहेका छैनन्।
स्थानीय जगरूप चौधरीका अनुसार स्थानीय सरकार गठन भएको सात वर्ष बितिसक्दा पनि वडाका कार्यालयहरू आफ्नै भवनमा सञ्चालन हुन नसक्नु दुःखद पक्ष भएकाे तर्क भन्छन्। उनी भन्छन्, ‘नगरपालिकाले प्राथमिकता दिनुपर्ने विषयमा ध्यान दिएको देखिँदैन। कार्यालयहरू व्यवस्थित नहुँदा सेवाग्राहीहरूलाई कुर्न कठिन हुन्छ, कार्यालयका कागजात सुरक्षित राख्न समस्या हुन्छ, वर्षायाममा पानी चुहिन्छ, र कार्यालय सञ्चालनमै बाधा पुग्छ।’
वडा नम्बर ६ का सेवाग्राही रामअवतार यादव भन्छन्, ‘कार्यालय सानो हुँदा सेवाग्राहीका लागि बस्ने ठाउँ पनि हुँदैन। वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरूलाई झन् समस्या हुन्छ। सेवा लिन जाँदा धेरै समय पर्खिनुपर्छ, कहिलेकाहीँ कागजात खोज्नै गाह्रो पर्छ।’
यद्यपि, नगरपालिकाको वडा नम्बर ११ ले भने आफ्नै भवन निर्माणमा अग्रसरता देखाएको छ। सो वडाका जनप्रतिनिधिहरूले बजार व्यवस्थापन समितिको सहमतिमा भवन निर्माणको काम अघि बढाएका छन्। वडाध्यक्ष ज्ञानेन्द्र चौधरीका अनुसार चालु आर्थिक वर्षभित्र भवन निर्माण पूरा गर्ने लक्ष्य छ। वडाले १४ लाख रुपैयाँको लागतमा पहिलो तल्लाको निर्माण गरिरहेको छ, भने अघिल्लो आर्थिक वर्षमा १० लाख रुपैयाँको लागतमा छत ढलान सम्पन्न भएको थियो। हाल पर्खाल, प्लास्टर, वायरिङ, ढोका–झ्याल जडानको काम भइरहेको छ।
नगर प्रमुख गोपाल राय यादवका अनुसार नगरपालिकाले सबै वडा कार्यालयहरूका लागि आफ्नै भवन बनाउने योजना अघि बढाइरहेको छ। उनी भन्छन्, ‘नगरपालिकाका कतिपय वडाहरू अझै भाडामा सञ्चालन भइरहेका छन्, जुन हाम्रो प्राथमिकतामा परेको विषय हो। स्रोत र साधनको व्यवस्थापन गर्दै क्रमशः सबै वडामा भवन निर्माण गरिनेछ। अहिले वडा नम्बर ११ ले पहल लिएको छ, अन्य वडाहरूलाई पनि यस्तै योजनामा जोड्नेछौँ।’
नगरपालिकाका अधिकांश वडा कार्यालय आफ्नै भवन नहुँदा सेवाग्राही र कर्मचारीहरू दुवै प्रभावित भएका छन्। स्थानीयहरू यस विषयमा नगरपालिका र जनप्रतिनिधिहरूको ध्यान जानुपर्ने बताउँछन्। यदि तत्काल पहल नगरिए वडा कार्यालयहरू भाडाको भवनमै सीमित हुने र स्थानीय सरकारको प्रभावकारिता कमजोर रहने चिन्ता व्यक्त गरिएको छ।