काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका बारेमा पनि धारणा राखेका छन् । आज देखी सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन् ।
‘यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखा परेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ, यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ’ उनले संसद् बैठकमा भने, ‘त्यससँगै सरकार पक्षीय दलहरूसँगको छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ ।’
उनका अनुसार पहिचान गरिएका विषयहरूमाथि संसद्मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालाहरूसँग छलफल गरिने छ । ‘हामी स्पष्ट छौँ, पार्टीहरूका आ–आफ्नै धारणा र पोजिसन हुन सक्छन् । मिलेका कुरामा साझा धारणा बनाइने छ, नमिलेका कुरामा बहस र छलफल गरिने छ । संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस, छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाउँछ । र, त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ ।’