काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरू सरकार ढलाउनमा लागेको बताएका छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरू सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन् ।
उनले भने, ‘विपक्षमा रहिरहेका साथीहरू एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघ मसान्त, माघे सङ्क्रान्ति आदी इत्यादि । एउटा गीत बजारमा आएको छ–‘ढलेँ ढलेँ’भन्ने अलि प्रचारमा छ । प्रायः आम रूपमा राजनीतिक नेताहरूले गाएको सुन्छु–ढल्यो ढल्यो ढल्यो..। आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो । राती ढल्यो, ढल्यो, ढल्यो ……। यो गीत पार्टी उत्सवमा सुहाउँला राजनीतिमा त्यति सुहाँउदैन् ।’
साथै उनले ८४ सम्म यो सरकार टसमस नगर्ने बताए ।
उनले दिनरात सरकार ढले भनेर गीत गाउनुको सट्टा कति कामहरू राम्रा भएका छन् त्यसको मूल्यांकन गर्नुपर्ने बताए ।