काठमाडौं– माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा विरोध गरेका छन् ।
शुक्रवार संसद्को अधिवेशनलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउनु बेठिक भएको भन्दै विरोध गरेका हुन् ।
‘सरकारले आवश्यकता अनुसार अध्यादेश ल्याउन पाइन्छ । संविधानमा उल्लेख छ । अध्यादेश संसद्को समितिमा छलफल भइरहेका बेला फिर्ता नलिई सरकार अध्यादेशमार्फत जान खोजेको त्यो बेठिक छ । समितिमै छलफल गरेको भए छिटो कानुन बन्थ्यो । जसरी सरकार संसद् छलेर अध्यादेशको बाटोमा गएको छ । त्यसको विरोध गर्दछौँ’, उनले भने ।
उनले प्रमुख सचेतक र मुख्य सचेतकलाई बोलाएर सदन सञ्चालन सम्बन्धमा छलफल गर्ने अभ्यास यस पटक तोडिएको आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेको कुरा ठिक छ । तर भुटानी शरणार्थी लगायत जतिपनि काण्ड भइरहेको छन् । तिनमा जनताले भ्रष्टाचार नगरिने कुरालाई गिज्याइरहेको होइन ?बोल्ने कुरा होइन । जनताले हेरेर बोलेर देखेर पुर्याउने कुरा गर्नुपर्यो । सुशासनको कुरामा सरकारले जसरी काम गर्नुपर्ने हो गर्न सकेको छैन । सरकार त सत्ता पक्ष विपक्षलाई काखा र पाखा पनि गरिहरेको छ । सरकार सबैको हो । सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्छ । ’
उनले छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको त्यो बेठिक भएको बताएका छन् । सरकारले सांसदलाई मिनिमाइज गरेर सांसदबाट सबैलाई लिएर हिँड्न भन्दा पनि अध्यादेशबाट लैजान खोजिरहेको उनको भनाई छ ।
उनले भने,‘छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको छ ।त्यो बेठिक भएको छ । सरकार अहिले सांसदलाई मिनिमाइज गर्ने सांसदबाट सबैलाई लिएर हिँड्न भन्दा पनि अध्यादेशबाट लैजाने जुन काम गर्न खोजिरहेको छ । यो बेठिक भएको छ ।’
उनले सरकारले जनताको दुखलाई अन्देखा गरेको पनि बताए ।