काठमाडौं– चन्द्रागिरि नगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ।
नगरपालिकाले शुक्रवार सूचना जारी गरी सार्वजनिक स्थलमा प्लास्टिकमा प्याकेजिङ गरिएका, खैनी, गुट्खा, पान, पराग तथा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको हो।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा सुर्ती सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकामा रहेका शिक्षण संस्था, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय लगायतका सार्वजनिक स्थलमा धूम्रपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थलाई निषेध गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रस्ट व्यवस्था गरेको छ।
उपरोक्त कानुनी व्यवस्था हुँदा हुँदै हालसम्म चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र मदिरा, सुर्तीजन्य पदार्थ बिक्री(वितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै प्लास्टिक वा बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको सेवनका कारण भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहर मैला बढ्न गई सहरको सुन्दरतामा समेत प्रतिकुल प्रभाव परेको छ।’
विज्ञप्तिमा सुर्तीजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लास्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूम्रपान चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र बिक्री वितरण पूर्णरूपमा प्रतिबन्ध लगाएको उल्लेख छ।