पछिल्लो समय मादक पदार्थ सेवन(मापसे) गरेर सवारी साधन चलाउनेको संख्या कम हुँदै गएको छ । लामो समयदेखि प्रयास र प्रभावकारी कार्यक्रमका कारण केही हदसम्म घटना न्यूनीकरणमा सफल भएका छौँ । विगतमा जुन किसिमको रेसियोमा मापसे थियो अहिले धेरै कम भएको तथ्यांकले नै देखाउँछ । चेकजाँचमा ल्याइएको केही परिवर्तनले परिणाममा सहयोग पुर्याएको छ । एउटै सेड्युलमा नगरेर परिवर्तन गर्दा परिणाम पनि राम्रो आएको छ । जस्तै शनिवार र बिदाको दिन दिउँसो पिकनिकहरूमा गएर दिउँसै मापसे गरेर गर्ने चलन थियो । अहिले भने त्यो क्रम कम भएको छ । रातको समयमा पनि विशेष गरेर ७ देखि ८ बजेको समयमा चेकजाँचको सेड्युल सुरु गरिरहेका हुन्छौँ । त्यस कारण केही न्यूनीकरण भएको हो ।
मापसेको कारणले सवारी दुर्घटना हुनेहरूको संख्या गत २०७९÷८० मा चाहिँ ६४९ वटा थिए भने त्यसमा १० जनाको मृत्यु भएको थियो । ४८ जना गम्भीर घाइते भएका थिए । ६२३ जना सामान्य घाइते भएका थिए । यता २०८०÷८१ मा ६५० वटा चाहिँ मापसेको कारण दुर्घटना भएर १२ जनाको मृत्यु भएको थियो । ५१ जना गम्भीर घाइते हुनुभएको थियो । जुन अहिले २०८१÷८२ को साउनदेखि अहिलेसम्म गर्दा ३१६ वटा दुर्घटना भएको छ । जसमा १६ जनाले ज्यान गुमाएका छन् । १७ जना गम्भीर घाइते हुनुभएको छ । ३८ जना सामान्य घाइते हुनुभएको छ । यस हिसाबले केही न्यूनीकरण भएको हो कि जस्तो लाग्छ ।
मापसेलाई अलग्गै कारबाहीको व्यवस्था छैन । तर अहिलेसम्म आर्थिक वर्षमा २० करोड ८५ लाख बराबरको कारबाही रकम उठाइसकेका छौँ । ३ लाख २० हजार २२९ ट्राफिक उल्लंघनका घटनाहरूमा २० करोड ८५ लाख ६० हजार कारबाहीमा परेर नै राजश्व जम्मा गरेका छौँ ।
नियन्त्रण गर्ने भनेको सबैभन्दा ठुलो कुरो आफूले पनि सबै कुरामा संस्कार बसाल्नुपर्छ । ट्राफिकको डरले मात्र कम गर्न सम्भव छैन । तर पनि कम गर्नको लागि ट्राफिक नियमको प्रचार प्रसार बढी गरिरहेका छौँ । विगतमा मापसे चेकिङ गल्लीहरूमा गरेका थियौँ । त्यतिबेला ट्राफिक प्रहरीप्रति नकारात्मक कुराहरू धेरै नै आए । तर अहिले भित्र भन्दा पनि मुख्य सडकमै फोकस गरेका छौँ । मुख्य सडकहरूमा दुर्घटना नहोस् भन्ने हिसाबले अहिले ट्राफिक चेकजाँच गरिरहेका छौँ । अहिले दैनिक एकसय प्लस जना मापसे कारबाहीमा पर्ने गरेका छन् । कारबाहीमा परेकाहरूलाई जनचेतनामूलक कक्षाहरू सञ्चालन गरेका छौँ । विभिन्न अन्तरक्रिया गरेर एउटा संस्कार बसोस भनेर काम गर्दा धेरै प्रगति समेत भएको छ । मापसे गरेर सवारी चलाउनेको संख्या कम भएका छन् । कसैले मापसे गरेको छ भने साथीलाई ड्राइभिङ गर्न लगाएर आफू पछाडि बस्ने संस्कार पैदा भएको छ ।
अहिले हामीले चेकजाँचहरू बढाउने र जनचेतनाहरू अभिवृद्धि गर्ने कामलाई बढी प्राथमिकता दिएका छौँ । मापसे बाहेक अन्य कारणले दैनिक दुई हजार प्लस कारबाहीमा परिरहेका छन् । अहिले बिदाको दिन १५ सयदेखि दुई हजार प्लस हुन्छ भने अन्य दिन दुई हजारदेखि २५ सय तीन हजारको हाराहारीमा कारबाहीहरू भएको देखिन्छ । अहिले विशेष गरेर यो महिनादेखि बढी फोकस ‘नो हर्न’ लाई लिएका छौँ । गलत प्रवृत्ति छ हर्न बजाउने । यसलाई सबैले तुरुन्तै छोड्नुपर्छ । यसमा पनि बढी कारबाही भइरहेको छ । ट्राफिक लेनहरूका सवालमा हाम्रै कन्ट्रोल रुमबाट हेरेर कुन सवारी साधनले ट्राफिक नियम उल्लघंन गरेको छ, रातो बत्तीमा गएको छ कि, पिक एन ड्रप गलत ठाउँमा गरेको छ की, ढोकाहरू खुल्ला छ की भनेर पनि मनिटरिङ गरेर कारबाही गरिरहेका छौँ । अहिले काठमाडौं उपत्यकामा एएन पिआर अटोमेटिक नम्बर प्लेट, स्पिड जस्ता कुराहरू कार्यालयबाटै हेरिरहेका उङ्छौँ । काठमाडौं उपत्यकामा ५५ भन्दा बढी स्पिड ठिक होइन । त्यसैले यी कुराहरूमा पनि हामी काम गरिरहेका छौँ ।
स्पिड बढीकै कारण महिनामा २० जनाको मृत्यु हुने गरेको देखिन्छ । यसमा पनि दुईपांग्रे सवारी साधनबाट बढीको मृत्यु भइरहेको देखिन्छ । साथै पछाडि बस्ने र पैदल यात्रीहरूको मृत्यु हुने गरेको छ । पुस महिनामै २० जनाले मृत्युवरण गर्नु भएको छ । माघको १ देखि १८ गतेसम्म दुई जनाको मृत्यु भएको छ । मृत्युहरू स्पिड, रातिको समयमा वा ट्राफिक नभएको समयमा सवारीमा ठोक्किएलगायत भएर भएका छन् । दिनमा सवारी चाप बढी भएको कारणले पनि प्रायजसो दुईपांग्रे सवारी साधनहरूको स्पिड बढी देखिन्छ । त्यस्तै सार्वजनिक यातायातहरू पनि सबैभन्दा बढी स्पिडकै कारणले कारबाहीमा परेका छन् ।
यति मात्र होइन लेनको कुरा पनि छ । हामीले विशेष रूपमा दुई पाङ्ग्रेहरुको लागि एउटा अभियान सुरु गरेका छौ । दुई पाङ्ग्रेहरुको लागि दुई मिनेट भनेर चालकको समय लिएर कुरा गर्ने गरेका छौँ । यसबाट हामीले घटनाको विवरण पनि लिन्छौ र यसमा मोबाइलको प्रयोग, मापसे, ओभरटेक गरेर हाँक्ने र हेलमेट नलगाएको कारण बढी दुर्घटना हुने कुराहरू प्राप्त भएको छ । यही कुराहरूलाई ध्यानमा राखेर सजक गराउन अभियानमा लागेका छौ । तर चालकहरू आफैँले यस्तो संस्कार नबसाएसम्म पूर्ण रूपमा कम हुन सक्दैनन् ।
अहिलेको अवस्थामा सवारी चालकहरूलाई मात्र दोष दिएर हुँदैनन् । अहिले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने पैदल यात्रीहरू हुन्छन् । पैदल यात्रुहरूलाई पनि विशेष ध्यान दिनुपर्ने अवस्था छ । उहाँहरूले क्षति भयो भने त आफूलाई नै हो कारबाहीको कुरा पछि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ ।
हामीले विशेष भीड हुने चोकहरूमा सामुदायिक प्रहरीको सहयोगमा पैदल यात्रीहरूलाई बाटो काट्ने तरिका सिकाउने वा सम्झाउने कामहरू पनि गरिरहेका छौ । अहिलेको समयमा पनि यसरी सम्झाउन पर्नु भनेको त्यति सुहाउँदो होइन । त्यसकारण आफैले बुझेर गर्नुपर्छ ।
‘नो हर्न’ अभियान ०७३ सालमा पनि चलाएका थियौ र त्यो बेलाको दुर्घटनाको संख्या घटेको थियो र त्यो बेला हामीले केही प्रशंसाहरू पनि पाएका थियौँ । यसले हामी कति सभ्य छौँ भनेर देखाउँछ । हर्न बजाउने कुरा भनेको गाली गरे जस्तो हो । जाममा बसेको बेला पनि बजाउने, कतै रोकिएको बेला पनि बजाउने यो राम्रो नभएको हुनाले अभियान चलाएका हौँ ।
अहिलेको समयमा प्रविधि अनुसार चल्नको लागि अनलाइनबाट जरिवाना तिर्न सक्ने व्यवस्था ल्याएका हौँ । अहिलेको समयमा लाइन लगाएर भौचर लिएर बस्ने कसैको समय पनि हुँदैन र यो अलि गाह्रो पनि हुन्छ । जरिवाना दुःख दिनको लागि तिराएको होइन । चालकहरूले अबदेखि यस्तो गल्ती फेरि नगरोस् भनेर हो ।
ट्राफिक व्यवस्थापनमा प्रहरी पूर्ण रूपले ठिक नहोला तर एक दुई जनाको नियतका कारण सिंगो ट्राफिकलाई गाली गर्नु पनि हुँदैनन् । नियत र प्रवृत्ति गलत भएर चिट काट्नु राम्रो होइन । अब यसलाई कसरी हुन्छ दुःख दिऊ भन्ने मानसिकता राख्नु हुँदैनन् । यी कुराहरूमा सच्याउन हाम्रो नेतृत्व प्रमुखबाट पनि सहजीकरण भइरहेको छ । बोली, व्यवहार, अनुशासन सुधार गर्न सुझाव दिने गरिएको छ । ट्राफिक प्रहरीहरूको बानीमा अहिले सवारी चालकहरू, सवारी धनीहरू, पैदल यात्रीहरूले विगतको तुलनामा केही फरक अनुभव गर्नु भएको छ । दुईचार जनामा सुधार नभएको होला तर धेरै सुधार भइसकेको छ ।
राजश्व संकलनकै कुरा गर्दा आर्थिक वर्ष ०८०/०८१ मा ७३ करोड ५४ लाख काठमाडौं उपत्यका प्रहरी कार्यालयले संकलन गरेको हो । हाम्रो लक्ष्य राजश्व उठाउने मात्र होइन, हामी कारबाही भन्दा पनि सचेतना अभियान चलाइरहेका छौँ । चेकिङ भन्दा पनि शिक्षामा फोकस गरेका छौ । सवारी चालकहरूको अनुशासनमा वृद्धि हुनु भनेको सवारी नियम पालना भएको भनेर बुझ्नुपर्छ ।
ट्राफिक प्रहरीले धेरै कारबाही गरेको भन्ने पनि लाग्न सक्छ । तर सवारी चालकहरूले धेरै अनुशासित र नियमको पालना गर्नुभएको छ भन्ने हाम्रो बुझाइ हो । अर्को कुरा अहिले प्रविधिलाई बढी फोकस गरेका छौ । प्रविधिमार्फत कारबाही गरेका कारणले पनि अहिले कमी आएको हो । चालकहरूमा पनि के छ भने ट्राफिक प्रहरीहरू अगाडि देखिँदा मात्र कारबाही परिने होइन कतैबाट हेरिरहेको छ भन्ने बुझ्नु भएको छ । समयक्रम अनुसार प्रविधिमा अग्रसर हुनै पर्छ । काठमाडौँ उपत्यकामा मेयरसँग भेटेर पोलुसनको अभियान चलाइसकेको छौ । २१९ जना पोलुसनको कारबाहीमा परेका छन् । महानगरको सहकार्यका ट्राफिक लाइटलाई डिजिटलमा रूपान्तरण गरिरहेका छौँ ।
ट्राफिक लाइटसँगै विभिन्न प्रविधिलाई सरकारले जोड दिनुपर्छ । दैनिक सवारी साधनहरूको वृद्धि कुन हिसाबले भइरहेको, इन्जिनियरहरू साथै सडकहरूको अवस्था के कस्तो छ त्यसलाई ध्यान दिनुपर्ने देखिन्छ । प्रविधि र शिक्षामा जोड दिनुपर्छ ।
ट्राफिक प्रहरी कसैको दुस्मन होइन सहयात्री हो भन्ने बुझ्नुपर्छ । यात्रुको सुरक्षा मात्र हाम्रो स्वार्थ हो । छिटो पुग्नुहोस् भन्ने मात्र होइन सुरक्षित पुग्नुहोस् भन्ने हाम्रो अभियान हो । ट्राफिक प्रहरीको डरले वा कारबाहीको डरले ट्राफिक नियमको पालना गर्ने मात्र होइन ट्राफिक नियमको पालना गर्ने संस्कारको विकास होस भन्ने लाग्छ । दुर्घटनाहरू न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा सबै पक्षबाट सहयोग मिलोस् भन्ने अपेक्षा छ ।