सिराहा– पछिल्लो समय सिराहामा राष्ट्रिय गौरव योजनाको नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला , तथा निजी आबादी जग्गाहरूबाट अनियन्त्रित रूपमा ग्राभेल उत्खनन गरी सडक निमार्ण गर्ने गरेको पाइएको छ।
ठेकेदार कम्पनीहरूले स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि, वनका कर्मचारी, सामुदायिक वनका अध्यक्षलाई आर्थिक प्रभावमा पारी सडक निमार्णका लागी आवश्यक सामाग्रीहरू माटो, ग्राभेल, र बालुवाहरू नजिकैको चुरे मासेर भए पनि सडक निमार्ण कार्य गर्ने गरेको पाइएको हो।
यसको उदाहरण हो । सिराहाको गोलबजार नगरपालिका ७ चोहर्वा बजारदेखि वडा नम्बर १० ध्रमपुर घुर्मीघाटसम्म भैईरहेको सडक निर्माणमा चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ, वन कर्मचारी र प्रहरी प्रशासनकै मिलेमतोमा ग्राभेल उत्खनन भइरहेको स्थानीयहरू बताउँछन्।
स्थानीयहरूका अनुसार ‘रातको समयमा वनभित्रै एक्स्काभेटर लगेर सालको रुख ढाल्दै ग्राभेल उत्खनन गरी टिफरमा ओसार्ने गरेको छ। यो विषयमा नियामक निकाय सबैलाई जानकारी छ तर कसैले चुइँक बोल्दैनन्। वन उपभोक्ता समूहका अध्यक्ष देवकुमार तामाङ त झन् आफ्नै रोहवरमा चुरे उत्खनन गराउछँन। उत्खननको क्रममा ढलेको सालको रुख पनि टिफरमा लोड गरी स्थानीय स–मिलहरूमा बिक्री वितरण गरिएको छ। वनको कर्मचारीलाई जानकारी गराउँदा समेत रुखको विषयमा केही बोल्दैनन्।
स्थानीय प्रमोद कुमार सिंहका अनुसार ‘उपभोक्ता समूहका अध्यक्ष तामाङले नै आफ्नै निजी जग्गाबाट करिब एक सय टिप माटो तथा ग्राभेल दिएका छन् ।
वनका कर्मचारी, जनप्रतिनिधि सबैलाई जानकारी छ। तर, यो उत्खनन रोक्न कोही अग्रसर देखिनन्। उनले भने, ‘उत्खनन को बारेमा हामीले पटक–पटक वनका कर्मचारी, सामुदायिक वनका अध्यक्ष, प्रहरी र जनप्रतिनिधि सहितलाई जानकारी गराए पनि सरोकारवाला निकायले कुनै वास्ता गरेनन्।
जिम्मेवार निकाय नै उत्खनन कर्ताको पक्षपोषणमा लाग्दा प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले उत्खनन भइरहेको वरिपरिका स्थानीयहरू त्रसित भएका छन्।
त्रसित स्थानीयहरूले चुरे दोहन बन्द गर्न र उत्खनन गराउने सामुदायिक वनका अध्यक्ष देवकुमार तामाङमाथि कारबाही गर्न नाम किटान गरी वडा नम्बर १० को वडा कार्यालयमा सामूहिक उजुरी दिएको वडा अध्यक्ष उपेन्द्र मुखियाले जनाए। उनले भने, ‘स्थानीयहरूलाई डराई धम्काइ वन नै मासेर ग्राभेल उत्खनन गरेको स्थलगत अनुगमनमा जाँदा देखिएको छ । यो वडावासीको लागि अत्यन्तै गम्भीर विषय हो। स्थानीयले दिएको निवेदनको आधारमा सम्बन्धित निकायलाई दोषी उपर छानबिन गरी कडा कार्यवाही गर्न पत्र पठाइदिएको छु।’
संरक्षणको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी नै उत्खनन गराउन सक्रिय रहेको स्थानीयको आरोप छ।
चुरे चौफाल सातपत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङसंग सामुदायिक वन भित्रैबाट उत्खनन भइरहेको छ? यो कसरी सम्भव भएको हो? तपाईँलाई यस वारे जानकारी छ की छैन? भन्ने प्रश्नमा उनले अल्मलिएर भन्ने, ‘ आफूलाई उत्खनन बारेमा कुनै जनकारी नै छैन। एक छिन पछि, त्यो त निजी जग्गा हो। यो सडक निमार्णमा मैले पनि सयौँ टिप्पर माटो तथा ग्राभेल दिएको छु।’ उनले यहाँ रातभरि वन तथा खोलाबाट उत्खनन भइरहेको स्वीकार गरेका छन् ।
उनले थपे, ‘यहाँ रात परेपछि वन तथा खोलामा एक्स्काभेटर लगाएर उत्खनन भइरहेको हुन्छ। यहाँ सबैको मिलेमतो छ। मेरो एक्लो प्रयासले त्यो रोकिँदैन।’ तर अध्यक्ष तामाङले नै ठेकेदारलाई स्थानीय स्तरमा ग्राभेल र माटो उत्खनन गर्न सघाउने गरेको स्थानीयहरूको आरोप छ।
यता,डिभिजन वन कार्यालय लहानका डिभिजन प्रमुख शैलेन्द्र कुमार मिश्रले उत्खनन भएको विषयमा हामीले अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘प्रहरीले एक्स्काभेटर समाएको भन्ने सुनेको छु। हामीले पनि अनुसन्धान गरिरहेका छौँ। दोषी उम्किनु हुँदैन। त्यसको लागि सबैको सहयोग आवश्यक छ।’
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर साहले भने सडकमा रहेको ग्राभेल सम्म्याउने क्रममा स्थानीयले मिलाउन नदिएर विवाद भएपछि एक्स्काभेटर सुरक्षाको लागि ल्याएर नगरपालिकाको जिम्मा लगाएको बताए।