गोरखा– गण्डकी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। स्थानीय विकास, सेवा प्रवाह, पारदर्शिता, सुशासन लगायतका विषयमा जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
गाउँपालिका वडा न ४ को गैरीचाैतरामा बुधबार गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाकाे अध्यक्षतामा आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्देश्य गाउँपालिका प्रशासनसँग जनताको प्रत्यक्ष संवाद गर्नु हो । यसबाट स्थानीय समस्याहरूलाई सम्बोधन गर्ने, सार्वजनिक सेवाहरूको सुधार गर्न र जनताको सहभागितामा काम गर्नका लागि योजना निर्माण गर्ने प्रक्रिया अघि बढाइन्छ। यस अवसरमा स्थानीय बासिन्दाहरूले आफ्नो विचार, सुझाव र गुनासाहरू उठाए।
अध्यक्ष दीपक तिमिल्सेना कार्यक्रममा उपस्थित जनतालाई सम्बोधन गर्दै गाउँपालिकाले विभिन्न क्षेत्रमा सुधार र विकासका लागि काम गरिरहेको बताए। उनले ‘गण्डकी कोदोको रक्सी’को उत्पादनलाई कानुनी रूपमा स्थापित गर्न र यसलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि योजना निर्माण भइरहेको पनि जानकारी दिए। उनले भने, ‘कोदोको रक्सी मात्र परम्परागत पेय पदार्थ नभई यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन ठुलो भूमिका खेल्न सक्छ। यसलाई व्यवस्थित र कानुनी रूपमा स्थापित गर्नका लागि सरकारसँग नीति र कानुनी व्यवस्था बनाउन हामी पहल गर्दैछौं।’ रक्सीको उत्पादन र ब्रान्डिङलाई ऐतिहासिक कदमको रूपमा उनले प्रस्तुत गरे।
कार्यक्रममा स्थानीय नागरिकहरूले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार विकास र सामाजिक सुरक्षा जस्ता विभिन्न समस्याहरू उठाए। उनले नागरिकहरूको सुझाव र गुनासाहरूलाई गम्भीरतासाथ सुने र ती समस्याहरूको समाधान गर्न कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विशेष ध्यान दिइने बताए। साथै, प्राथमिक विद्यालयहरूको व्यवस्थापनमा सुधार, स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभाव र कृषि अनुदान प्रणालीलाई व्यवस्थित गर्ने आश्वासन दिए।
गाउँपालिकाले विगत केही समयदेखि स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा उल्लेखनीय काम गर्दै आएको बताए। गाउँपालिकाले प्रत्येक वडामा निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराएको छ भने गर्भवती महिलाहरूलाई निःशुल्क प्रसूति सेवा र आर्थिक सहयोग पनि उपलब्ध गराइरहेको छ।
विद्यालयहरूमा स्मार्ट कक्षा सञ्चालनका साथै विपन्न परिवारका बालबालिकालाई निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति कार्यक्रमहरू प्रदान गरिएको छ। विद्यालय भवनहरूको मर्मत र पुनर्निर्माण कार्यलाई पनि प्राथमिकता दिइएको छ। कृषि क्षेत्रको सुधार र विकासका लागि स्थानीय किसानहरूलाई कृषि अनुदान र आधुनिक प्रविधि सम्बन्धी तालिम दिने कार्यक्रम सञ्चालन गरिएको छ।
उनले थपे, ‘हामी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नका लागि कृषि र लघु उद्यमहरूलाई प्रवर्द्धन गर्ने योजनामा अघि बढिरहेका छौँ। यसका लागि आवश्यक नीति निर्माण र कानुनी प्रक्रियामा पहल गर्नेछौँ। हामी गाउँपालिकाको सेवा प्रवाहलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नेछौँ ताकि सबै सेवाहरू सहज र प्रभावकारी रूपमा जनतासम्म पुग्न सक्नेछ।’
गाउँपालिकाले गर्भवती महिलाहरूका लागि विशेष अभियान पनि सञ्चालन गरेको उनले बताए । जसअन्तर्गत प्रत्येक सुत्केरी महिलालाई मासिक चार हजार रुपैयाँको दरले ६ महिनासम्म आर्थिक सहयोग उपलब्ध गराएको छ। यस अभियानलाई स्थानीयले सराहना गरेका छन् र यसको प्रभावकारिता र महत्त्वलाई उच्च प्रशंसा गरे।
उनले अगाडि थपे, ‘स्थानीय सरकार र जनताबीचको प्रत्यक्ष संवाद र सहयोग बढाउँदा मात्र समृद्ध गाउँपालिका निर्माण गर्न सकिन्छ। यसका लागि हामी यस्ता सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिनेछौँ र जनतालाई समावेश गर्ने विभिन्न योजना बनाउनेछौँ।’
सार्वजनिक सुनुवाइको माध्यमबाट गण्डकी गाउँपालिकाले आफ्नो सेवाहरूको स्तर सुधार गर्न, जनताको समस्या समाधान गर्न र समृद्ध गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। उक्त कार्यक्रम प्रभु मिडिया हाउसले समन्वय गरेको थियो।