काठमाडौं– पछिल्लो केही समयदेखि ‘ग्लोबल आइएमई बैंक डुब्दैछ, खाता बन्द गर’ भन्ने अफवाह केही व्यक्ति तथा समूहद्वारा फैलाइएको छ। यी अफवाहको मुख्य कारण ताप्लेजुङको केबलकार निर्माणसम्बन्धी विवाद हो। ‘नो केबलकार’ पक्षधरहरूले बैंकका विभिन्न शाखाहरूमा प्रदर्शन गर्दै बैंकविरुद्ध गलत प्रचार गरिरहेका छन्।
केबलकार निर्माण विरोधी समूह इटहरी, झापा र काठमाडौंका शाखाहरूमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल केबलकार निर्माण कम्पनीसँग जोडिएको भन्दै बैंकलाई दबाब दिन खोजिरहेका छन्। साथै, सामाजिक सञ्जालमा पनि बैंकबारे नकारात्मक प्रचार भइरहेको छ।
सामाजिक सञ्जालमा अफवाहको प्रभाव
सागर केरुङ नामक फेसबुक प्रयोगकर्ताले स्ट्याटस लेख्दै ‘ग्लोबल आइएमई बैंकमा खाता छ भने तुरुन्तै बन्द गर्नुहोस्’ भनी लेखेका छन्। त्यस्तै, दिनेश तिलिङले बैंक बहिष्कार गर्नुपर्ने भन्दै अभियान चलाएका छन्। ब्रबिम शर्माले बैंक ‘व्यापक रूपमा डुब्न लागेको’ भनी स्ट्याटस लेखेका छन्, जसमा धेरैले समर्थन जनाएका छन्।
भीम वली नामक व्यक्तिले ‘प्रतिष्ठित टेलिभिजनहरूबाट पनि बैंकबारे नकारात्मक समाचार आइरहेको’ भन्दै चिन्ता व्यक्त गरेका छन्। यसरी सामाजिक सञ्जालमा बैंकबारे गलत सूचना फैलिनु आम खातावालहरूलाई त्रसित पार्ने कार्य भएको छ।
बैंकको वास्तविक वित्तीय अवस्था
बैंकको पछिल्लो वित्तीय विवरण हेर्दा यो बैंक सबैजसो सूचकमा अब्बल देखिन्छ । बैंकबारे फैलाइएको भ्रम जस्तै बैंक नकारात्मक अवस्थामा देखिँदैन ।
वित्तीय सूचकहरू सकारात्मक रहेको यस ग्लोबल आइएमई बैंकमा ४८.७६ प्रतिशत लगानी सर्वसाधारणको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ ।
बैंकको हाल चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
नियामक निकायको धारणा
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार केबलकार निर्माणसँग जोडेर बैंकविरुद्ध गरिएको प्रचार पूर्णतः भ्रामक छ। उनले भनेका छन्, ‘नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकविरुद्ध गरिएको यो प्रचार गलत हो। कसैको उक्साहटमा परेर त्यस्ता गतिविधिमा संलग्न नहुन अनुरोध छ।’
नियामक निकाय र बैंकिङ प्रणालीका सूचकहरुका आधारमा गरिएको स्वतन्त्र फ्याक्ट चेकले सामाजिक संजालमा केही व्यक्तिले दावी गरेजस्तो अवस्था विल्कुल छैन । निश्चित राजनीतिक र जातीय भड्काउको उद्देश्यले गरिएको आन्दोलनका समर्थकले विदेशमा बसेर सामाजिक संजालमार्फत बैंकको बारे अफवाह फैलाएर सर्वसाधारणलाई भ्रमित पार्न खोजिएको आरोप छ ।
साइबर व्युरो आफैंले यस्ता अकाउन्टहरु पहिचान गरी कारवाही गर्नुपर्ने बैंकरहरु बताउँछन् ।