गोरखा– धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ ।
उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहीबार बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ भने बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र विनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् । यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ साथै कम्पनीको प्राथमिक शेयर निष्कासन (आईपीओ) ६ महिनाभित्रमा जारी हुने प्रक्रियामा समेत रहेको छ ।
हाइड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस बुढीगण्डकी हाइड्रोपावर आगामी १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता (पीपीए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।
आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पब्लिक लिमिटेड गरी प्राथमिक शेयर (आईपीओ) मा गई छिट्टै सर्वसाधारणको लागि शेयर जारी गर्ने तयारी समेत गरेको जनाइएको छ ।
यसअघि निर्माण सम्पन्न गरी सफलतापूर्वक विकास हाइड्रोलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको टिम र टिममा अध्यक्ष रहेका एनआरएनए आइसिसी उपाध्यक्ष खगेन्द्र न्यौपानेको टिमले सफल हाइड्रो डेप्लपर्सको रूपमा समेत ख्याति कमाइसकेका छन् ।
आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न र यसै वर्ष सुरु गर्ने गरी थप २४ मेगावाट क्षमताको साङ्ग्रिला हाइड्रोपावर बनाउने कम्पनीले जनाएको हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले यो टिमले विकास हाइड्रोपावर समयमै निर्माण गरेर मन जितेकाले आफूहरूले अर्को प्रोजेक्टमा पनि लगानी गरेको बताए ।
विकास हाइड्रोको सफलतापछि बुढिगण्डकी हाइड्रोपावर र साङ्ग्रिला हाइड्रोपावर सुरु गरेको यो टिमले समयमा नै हाइड्रो सम्पन्न गर्ने बताएको छ ।
विकास हाइड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि देश विकासमा सानो भने पनि थप योगदान गर्न सुपर माछाखोला जलविद्युत आयोजना ४.६ मेगावाट र साङ्ग्रिला हाइड्रोपावर २४ मेगावाट सुरु गरेको अध्यक्ष खगेन्द्र न्यौपानेले बताए । मलेसियाका अत्यन्तै सफल व्यवसायी न्यौपानेले देश विकासको महत्त्वपूर्ण आधार जलस्रोत, जंगल र जमिन नै भएको जनाउँदै गैर आवासीय नेपालीको पनि देश विकासमा ठुलो योगदान रहेको बताए । उनले आफूले अघिल्लो विकास हाइड्रोजस्तै अन्य २ हाइड्रोलाई पनि समय सीमा भन्दा पहिले नै सम्पन्न गरेर लगानीकर्ताहरूको मन जित्ने बताए । यस्तै अर्का सञ्चालक कृष्ण घिमिरेले विकास हाइड्रोलाई जस्तै अन्य प्रोजेक्टलाई माया गरिदिन सबैलाई आग्रह गरे । घिमिरेले आफूहरूले छिट्टै थप अन्य हाइड्रो पनि निर्माण गर्ने बताए ।
यस आयोजना बनाउन देश विदेशमा रहेका नेपाली र एनआरएनएले साथ दिएको र चुस्त टिम भएकै कारण समयमा हाइड्रो सम्पन्न गरिने न्यौपानेले बताए । उनले अहिलेसम्म आफूहरूले साना आयोजनामा मात्र लगानी गरिरहेकोमा अब निकट भविष्यमा २५ मेगावाट भन्दा माथि ५०/ १०० मेघावाटको आयोजना बनाउने गरी तयारी गरेको बताए ।
जलविद्युत नै नेपालको भविष्य हो यसमा क्रान्ति नै गर्नु पर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ न्यौपानेले बताए । उनले हाइड्रो पावर टिममा म्यानेजमेन्ट टिम नै प्रमुख हुने रहेछ त्यस्तो टिमवर्क हामीमा छ त्यसैले हामी सफल भएका छौ ।