इटहरी– कोशी प्रदेश स्थित सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर उपमेयरबीचको विवाद समाधान उन्मुख भएको छ ।
बिहीबार भएको छलफलमा मौखिक रूपमा सहमति जुटेको उपमहानगरकी उपमेयर संगिता कुमारी चौधरीले जानकारी दिइन् ।
‘एक प्रकारको मौखिक सहमति भयो । आइतबार लिखित रूपमा सहमति हुन्छ,’ उनले भनिन्,‘प्रमुख प्रशासकीय अधिकृतज्यू बिरामी भएकाले आइतबार लिखित सहमति हुने भएको हो ।’
उनका अनुसार गत माघ ३ गते आफ्नो अध्यक्षतामा बसेको कार्यपालिका बैठक आंशिक रूपमा कार्यान्वयन हुनेछ । जसअनुसार एमालेले जितेका वडाका सरुवा भएका कर्मचारीलाई नचलाउने र कार्यपालिकाले कामकारबाहीको सिफारिस गरेका कर्मचारीलाई माफी दिने भएको हो ।
उपमहानगरका मेयर हेमकर्ण पौडेल गत पुस २८ गते कर्मचारी सरुवा गरेर भारत गएका थिए ।
त्यस बखत कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर चौधरीले कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाकिन् । कार्यपालिकामा एमालेको बहुमत नै भएकाले ३ माघमा कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टायो ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र शाखा प्रमुख सञ्जीव खड्कालाई नै कारबाहीको लागि सिफारिस गरिएको थियो ।
त्यसपछि चर्किएकोको विवाद उत्कर्षमा पुगेको हो । जसका कारण ११ माघमा उपप्रमुख चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख खड्काको कार्यकक्षमा तालाबन्दी समेत गरे ।
तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख पौडेलले बुधवार ताला फुटाइदिए । त्यसपछि मेयरकै कार्यकक्षमा ताला लगाउने बताएका उपमेयरसहित एमाले जनप्रतिनिधिले सहमति गरेका हुन्।
सहमति अनुसार प्रशासकीय अधिकृत मेहता र खड्कालाई माफी दिने भएको उपमेयर चौधरीले बताइन् ।