सिरहा– गोलबजार नगरपालिका–१० का ज्ञान यादव सिरहा कारागारबाट रिहा हुने दिन नजिकिँदै गर्दा खुसी हुनुको सट्टा तनावमा थिए ।
तनावको कारण थियो कैदमुक्त हुनु दुई दिनअघि जेलका नाइके विजय महतोलाई बुझाउनुपर्ने नजराना रकम कसरी जुटाउने ? उनले घरमा तारान्तार फोन गरेर १० हजार ५ सय रुपैयाँ मगाए । माघ १६ गते सिरहा कारागारबाट रिहा हुने दिन थियो । दुई दिन अघि नाइके महतोलाई १० हजार ५ सय नजराना बुझाए ।
यो घटना अपवाद होइन ।
सिरहा कारागार भित्रको प्रमाण हो । यहाँबाट रिहा हुने हरेक कैदीबन्दीले कैदमुक्त हुनु दुई दिनअघि नाइके विजय महतोलाई त्यति रकम बुझाउनै पर्छ । रिहाइको दिन नजिकिएसँगै कैदीबन्दीलाई ठुलो चिन्ता हुन्छ १० हजार ५ सय कसरी जुटाउने ? कैदमुक्त ज्ञान यादव भन्छन्, ‘रिहाई हुनु दुई दिन अघि नै उसले जेलका नाइके महतोलाई १० हजार ५ सय नजराना चढाउनैपर्छ । रिहा हुने एक साता अघि नै नाइके महतोले चेतावनी दिन्छन् । चेतावनी दिएको तीन दिनभित्र रकम नबुझाए कुटपिट गर्न थाल्छन् । यातना दिन थाल्छन् । कैदी बन्दीले घरमा फोन गरेर रकम मगाउँछन् ।’
धरौटी राख्न ढिला हुँदा दुई दिनका लागि कारागार चलान गरिएका राजदेव यादवले पनि १० हजार ५ सय नाइके महतोलाई दाम चढाउनैपर्याे । भन्छन्, ‘त्यति रकम नदिएसम्म कारागारबाट निस्कनै दिएनन् । मन्दिर बनाउने, कारागारको भित्ता रंगाउने वा मर्मत गर्ने नाममा नाइके महतोले हरेक मुक्त हुने कैदीबन्दीसँग रकम असुल गर्छन् । सिरहा जेलभित्र नेपालको कानुन चल्दैन । त्यहाँ विजय महतोले जे बोल्यो त्यही कानुन बनेर लागु हुन्छ ।’
हात हतियार खर खजाना मुद्दाबाट सजाय पाएर जेलमुक्त भएका कल्याणपुर नगरपालिकाका कैदी सकिल अन्सारी भन्छन्, ‘मैँले पनि १० हजार ५ सय बुझाउनै पर्यो ।’ उनले पनि नाइके महतोको यातना भोग्नु परेको सुनाए । अन्सारी भन्छन्,‘नाइके महतोसँग जेल प्रशासन, सिडियो र एसपी सबैको मिलेमतो छ । नाइके महतोले जिल्लाका हाकिमहरूसँग फोन संवाद गरिरहन्छन् ।’ अन्सारी भन्छन् ‘जेलभित्र नाइके महतोले ठुलो व्यापार चलाएका छन् । चुरोट सूर्य ४५, शिखर २५, खुकुरी २०, प्रति खिल्ली र राज निवास गुट्खा प्रति प्याकेट २५ रुपैयाँमा बिक्री गर्छन् । थरीथरीका मदिरा, लागू औषध जेलभित्र उपलब्ध छ । जसले जे किने पनि नाइकेकै पसलबाट किन्नुपर्छ । बाहिरबाट मगाएको थाहा पाएभने उनले कैदीलाई कुटपिट गर्ने गर्छन् । कैदीको गुनासो कसैले सुन्दैन ।’
अन्सारी भन्छन्,‘कसैले बाहिर गएर पत्रकार वा मानव अधिकारकर्मीहरूलाई केही सुनायो भने उसलाई फेरि कुनै मुद्दामा फसाएर जेलभित्र मगाउँछु, त्यसपछि कुट्छु भनेर धम्की दिन्छन् । नाइके महतोले प्रहरी प्रशासन आफ्नै हातमा भएको घमन्ड गर्छन् ।’
अन्सारीका अनुसार नाइके महतोले मोबाइल राखेका छन् । जेलभित्रका झन्डै ५५० कैदीले त्यहीबाट घरमा फोन गर्नुपर्छ । चर्को शुल्क लिइन्छ । फोनबाट मात्र उनले करिब तीन लाख महिनाको आम्दानी गर्छन् । सिरहा जेलमा लागु औषध र रक्सी जति पनि पाइन्छ ।
जेलको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार नाइके महतोले जेलभित्र असुल गर्ने नाजायज रकम मासिक १० लाखभन्दा अधिक हुन्छ । उनले भने,‘हामी सानाको काम ड्युटी गर्नु हो । ठुलाले मोज गर्छन् । आम्दानीबाट नाइके महतोले जेलर, प्रमुख जिल्ला अधिकारी र एसपीलाई समेत नजराना पठाउँछन् । महिनैपिच्छे घुमुवामार्फत ठुला हाकिमहरूले रकम असुलेर लान्छन् ।’
तीन महिनाअघि सिरहा कारागार भित्र नाइके महतोले लागू औषध र मदिराको व्यापार चलाएको सञ्चार माध्यमहरूमा समाचार आएको थियो । त्यसपछि छानबिनका लागि प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले एक समिति गठन गरेका थिए । तर धेरै दबाब दिँदा पनि प्रजिअ दाहालले सो छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेनन् ।
प्राप्त जानकारी अनुसार गृह मन्त्रालयबाट आएको पत्रमा कर्तव्य ज्यान मुद्दामा जन्मकैदमा सजाय पाएका नाइके विजय महतोलाई जेल सरुवा गर्न भनिएको छ । तर प्रमुख जिल्ला अधिकारी दाहालले नै उनको जेल सरुवा टार्न खोजेको बताइन्छ ।
सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालसँग जिज्ञासा राख्दा उनले भने, ‘हामीले पनि हिजो मात्र यो यस्तो घटना सुन्यौँ । जेल प्रमुखलाई छानबिन गर्न भनेका छौँ । बुझ्ने काम हुँदैछ ।’
त्यसैगरी प्रहरी उपरीक्षक रमेश पण्डितसँग जानकारी राख्दा भने, ‘यसबारे सोधिखोजी सुरु भएको छ । छानबिन गर्दैछौं । प्रमाणित भए उनीहरूलाई थप सजाय हुन्छ ।’
कारागार प्रमुख राजन घिमिरेले भने, ‘म भर्खरै आएको छु । दिउँसो जिल्ला प्रशासनमा काम गर्छु । साँझमा कारागार हेर्न पुग्छु । जेलभित्रका कुरा हामीलाई पनि सजिलै थाहा हुँदैन । म सूक्ष्म तरिकाले अध्ययन अनुसन्धान गर्दैछु । तथ्य फेला परेपछि कारबाही गर्छौ ।’