काठमाडाैं– थप १६ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार एक निर्णय गर्दै स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको हो। यस कदमलाई सरकारको प्रशासनिक सुधारको रूपमा हेरेको छ ।
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको नियुक्ति प्रक्रिया प्रायः विवादमा पर्छ । भनसुन र पावरको आधारमा आफू अनुकूलका व्यक्तिहरूलाई नियुक्ति दिने आरोप उठेको थियो। नयाँ निर्णय अनुसार, निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी अब ज्येष्ठता र योग्यता आधारमा दिइनेछ।
मन्त्रालयका अनुसार, यसअघि २३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाइएको थियो। १० नगरपालिका र १३ गाउँपालिका गरी २३ स्थानमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाएर, नयाँ नियुक्ति प्रक्रिया थालेको थियो । मन्त्रालयले अब नियुक्ति गर्दा कार्य अनुभव र प्रशासनिक क्षमताको आधारमा व्यक्तिलाई चयन गर्ने लक्ष्य राखेको छ।
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई पावर र भनसुनका आधारमा नियुक्ति गर्दा प्रशासनिक कार्यहरूमा नकारात्मक प्रभाव परेको देखिएको थियो। यससँगै, भ्रष्टाचार र अक्षमता पनि बढ्न थालेको थियो।
मन्त्रालयका एक अधिकारीले भने, ‘निमित्त नियुक्तिहरूलाई अब योग्यता र अनुभवको आधारमा चयन गरिनेछ, जसले स्थानीय तहको प्रशासनिक कार्यविधिमा सुधार ल्याउन मद्दत पुर्याउने छ।’
स्थानीय तहमा हुने भ्रष्टाचार र प्रशासनिक ढिलाइमा कमी ल्याउने आशा गरिएको छ।