काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारको लागि नेपालमा उपचारात्मक प्रणालीको विकास नभएको बताएका छन् ।
शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले क्यान्सरको उपचार पद्धति नेपालमा पूर्णरूपमा विकसित अझै नबनेको र त्यसमा धेरै काम गर्न बाँकी रहेको बताएका हुन् ।
उनले भने, ‘नेपालमा धेरैले दुःख पाउने र धेरैको मृत्यु हुने कारण क्यान्सर पनि एक हो । यसको उपचार पद्धति नेपालमा पुर्णरुपमा विकसित भई नसकेको अवस्था छ । क्यान्सरको उपचारको लागि हामीले उपचारात्मक प्रणाली विकासका लागि अझै धेरै काम गर्न बाँकी छ तर जटिल बनिरहेको छ । गत वर्षको तथ्याङकमा १४ हजार मानिसहरू क्यान्सरको कारण मृत्यु भएको तथ्याङक छ । त्यसकारण यसलाई गम्भीर लिनुपर्छ ।’
मन्त्री पौडेलले क्यान्सर रोगलाई प्राथमिकतामा राखेर राज्यले प्रस्ट नीति र उपचारात्मक पद्धतिलाई पूर्ण बनाउन लगानी गर्नुपर्ने बताए ।
उनले पछिल्लो समय क्यान्सर मात्र नभई अन्य रोगको पनि बिरामी बढिरहेको बताए ।
उनले भने, ‘यसलाई प्राथमिकतामा राखेर राज्यले प्रस्ट नीतिमा उपचारात्मक पद्धतिलाई पूर्ण बनाउन राज्यको लगानी आवश्यक छ । क्यान्सर मात्र होइन अन्य रोगको पनि बिरामी बढिरहेको छन् । बिरामी बढिरहने उपचार पद्धति पनि पूर्ण नहुने अवस्थाले स्थिति झन् गम्भीर बनेर जान्छ ।’