काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकप्रति गम्भीर नभएको बताएका छन् ।
शनिवार पार्टीकाे प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ओली देश चलाउनका लागि र जनताको समस्या समाधानका गर्नका लागि नभई सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्न केन्द्रित भएको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली मुलुक सञ्चालन गर्ने कुरामा गम्भीर हुनुहुन्न । जनताको समस्या समाधानका गर्नका लागि जिम्मेवार हुनुभएको छैन । सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ । जसका कारण मुलुकको भविष्य संकटमा पर्ने सम्भावना देखिन्छ ।’
उनले कांग्रेस र एमालेलाई सङ्ख्याको मात लागेको भए छिमेकी देश बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरे । उनले सङ्ख्याको मात लाग्यो भने, यसको दुरुपयोग गर्न थाल्यो भने त्यसको प्रतिकार गर्न जनता सडकमै उत्रिने चेतावनी दिए ।
उनले भने, ‘अहिले उहाँले नयाँ भाष्य ल्याउनु भयो नेपालमा दुई वटा ठुला पार्टी मात्रै छन् भन्ने बुझाइरहनु भएको छ । दुई दलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ भन्ने ओलीको सोच छ, बहुदलीय होइन । संविधान संशोधन गरेर बहुदलीय नभई दुई दलीय शासन प्रणाली स्थापित गर्न खोज्नु भएको हो कि ? हामी त्यो पर्खेर बसिरहेका छौँ,’ अगाडि भने,‘उहाँहरूलाई सङ्ख्याको मात लागेको छ भने छिमेकी देशहरू सम्झिनुस् । चाहे बंगलादेश होस्, चाहे श्रीलंका होस्, त्यसले पाठ त सिकाइसकेको छ । संख्याले मात्र केही पनि हुँदैन, त्यो सङ्ख्याको मात लाग्यो भने यसको दुरुपयोग गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्न जनता उत्रिने छन् । जनता भन्दा शक्तिशाली कोही पनि हुँदैन ।’
उनले पदमा बस्नको लागि धेरै आतुर हुने, तर पदीय जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति बढेको बताए ।
उनले जनतामा नयाँ आशा, भरोसा र विश्वास दिलाउन सक्नुपर्ने औँल्याए ।