काठमाडौं- खानेपानी मन्त्री प्रदीप यादवले सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन् । शनिवार संचारकर्मीहरुसँगको कुराकानीका क्रममा घट्नाबारे अनुसन्धान भइरहेको प्रस्टाएका हुन् ।
उनले आगलागीमा कुनै पनि आवश्यक कागजपत्रहरू नजलेको बताए । डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्त्वपूर्ण कागजपत्रहरू जोगिएको बताए ।
उनले भने, ‘महत्त्वपूर्ण कागजपत्रहरू बचेका छन् । कुनै पनि आवश्यक कागजपत्रहरू मेरो टेबुलमा थिएन । डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ । कहिले पनि टेबुलमा फाइल रहँदैन थियो । त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन् ।’
उनले शुक्रवार कार्यालयमा केही गन्ध आएको र त्यो पानी तताउने मेसिन हिट भएर होला भन्ने सोचेको बताए ।
उनले भने,‘ हिजो म कार्यालयमा हुँदा गन्ध आएको थियो । मैँले कार्यालय सहयोगीलाई सोधेँ उहाँले पानी तताउने मेसिन हिट भएर होला भन्नुभयो । अनि पल्क निकालेर सवा पाँच बजे निस्कियौ । बिहान यस्तो दुखद घटना घट्यो ।’ उनले थप भने, ‘यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तीन वटा सीसी क्यामेराको मनिटर, एक थान कम्प्युटर, डेक्सटप, पानी तताउने मेसिन, टेबुल, सोफालगायत अन्य सामानहरू जलेका छन् ।’
शनिवार बिहान करिब पौने ८ बजे खानेपानी मन्त्रालयमा आगलागी भएको थियो । चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । अरु कुन-कुन कार्यकक्ष थियो भन्ने खुलेको छैन ।
आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।