काठमाडौं– अनेरास्वविय (क्रान्तिकारी)का पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि पोखेका छन् ।
शनिबार क्रान्तिकारीका नवनियुक्त पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा प्रचण्डले ‘विद्यार्थी नहुने तर विद्यार्थी नेता भइरहने समस्या अब हल भयो’ भन्ने अभिव्यक्ति दिएपछि विद्यार्थी आन्दोलनसँग प्रत्यक्ष संलग्न पूर्वविद्यार्थी नेताका नामै लिएर सार्वजनिक अभिव्यक्ति दिएपछि न्यौपानेले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट असन्तुष्टि पोखेका हुन् ।
आफू कानुनी रूपमा तोकिएको ३२ वर्षे उमेरहद अगावै विद्यार्थी संगठनको अध्यक्ष बनिसकेको र त्यतिबेला नै दोस्रो कार्यकालको सुरुवात भइसकेको स्पष्ट पार्दै उनले भने, ‘विद्यार्थी नेता भइरहने आरोप निराधार छ। हामी विश्वविद्यालय पढेरै आएका हौँ, कानुनी प्रक्रिया उल्लंघन गरी संगठनमा टिकेका होइनौँ।’
विद्यार्थी संगठनको नेतृत्व आफूले स्वेच्छाले खोजेको नभई पार्टीकै निर्णयअनुसार आफूले प्राप्त गरेको दाबी गर्दै उनले थपे, ‘०५९ को अन्त्यतिर सम्पन्न रोल्पा बैठकले मलाई पहिलोपटक अध्यक्ष बनाउने निर्णय गरेको थियो। त्यसबेला म मकवानपुरको चुरे क्षेत्रमा पार्टी काममा थिएँ। न त मैले अध्यक्ष बनाइदिन अनुरोध गरेको थिएँ, न त त्यसको संस्कृति नै थियो। पार्टीकै निर्णयअनुसार मलाई नेतृत्व दिइयो।’
त्यसपछि दोस्रो कार्यकालमा पनि खुला वातावरणमै आफू दोहोरिएको र तेस्रो पटकसमेत अध्यक्ष बन्नुपर्ने भन्दै पार्टी नेतृत्वले नै जोड दिएको उनले स्मरण गरे। ‘योग्य साथीहरू धेरै तल जाममा परिरहनुभएको छ। मैले गर्ने योगदान गरिसकेको छु। पुनः त्यही जिम्मेवारी लिँदा निरन्तरता भन्दा ओरालो परिणाम मात्रै हुन्छ, जसले विद्यार्थी आन्दोलनलाई सकारात्मक प्रभाव पार्दैन,’ उनले भने।
विद्यार्थी संगठन जनयुद्धको क्रममा अग्रपंक्तिमा रहेको उल्लेख गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उनले थपे, ‘सहरी आन्दोलन जोखिमपूर्ण थियो, जसलाई पार्टीले नै विद्यार्थी संगठनलाई अग्रभागीय मोर्चाका रूपमा उपयोग गर्ने नीति लिएको थियो। विद्यार्थी संगठनहरूले क्याम्पस-क्याम्पसबाट पूर्णकालीन कार्यकर्ता उत्पादन गरी सैन्य मोर्चामा पठाउने काम गरिरहेका थिए।’
उक्त रणनीतिअन्तर्गत थुप्रै विद्यार्थी सहिद, बेपत्ता, अपांग र हिरासतमा परेका थिए। उनले भने, ‘हामी दर्जनौँ पटक हिरासतमा पर्यौं, यातना भोग्यौँ, लामो जेल जीवन बितायौँ। पार्टीको आदेश विपरीत कुनै प्रश्न उठाइएन, न इन्कार नै गरियो। यस्तो पृष्ठभूमिमा हामीलाई विद्यार्थी नेता भइरहन मात्र चाहने व्यक्ति भन्नु गलत हो।’
विद्यार्थी संगठनहरूले गरेका योगदान सामान्य नभई विशिष्ट रहेको दाबी गर्दै उनले भने, ‘विद्यार्थी आन्दोलनले शैक्षिक संघर्ष, संगठन परिचालन, र समग्र जनयुद्ध तथा त्यसपछिको परिवेशमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यसको मूल्याङ्कन गर्दा सतही रूपमा हेर्नु न्यायोचित हुँदैन।’
प्रचण्डलाई संकेत गर्दै उनले भने, ‘टाउको दुखेको औषधि नाइटोमा लगाएर समाधान हुँदैन, अध्यक्ष कमरेड!’ आफ्नो भूमिकालाई कटाक्ष गरेर मूल्यांकन गर्नु अन्यायपूर्ण भएको उनको तर्क छ।
सार्वजनिक कार्यक्रममा गरेको टिप्पणीप्रति उनले असहमति जनाउँदै विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदानलाई सही परिप्रेक्ष्यमा हेर्न आग्रह गरे।