काठमाडौं– माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रूपान्तरण अहिलेको मुख्य कार्यभार भएको बताएका छन् ।
साेमबार दिक्तेलको एक कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने भए पनि उक्त काम पूरा नगरेर तरबार झुन्डाइरहने काम भएको टिप्पणी गरेका हुन् ।
उनले भने,‘संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रूपान्तरण अहिलेको मुख्य कार्यभार हो । सामाजिक आर्थिक रूपान्तरणको कार्यभार पूरा गर्नुपर्ने छ त्यो काम माओवादी केन्द्रले मात्र पूरा गर्न सक्छ । हामी चाहन्छौँ यो कार्यभार हाम्रो पार्टीले पूरा गर्नुपर्छ । पार्टीले यो कार्यभार पूरा गर्न सकेन भने अरू कुनै पनि पार्टीले गर्न सक्दैन ।’
साथै उनले राजनीतिक सहमतिको आधारमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिस समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
द्वन्द्वपीडितले अझै पनि न्यायको अनुभूति गर्न नसकेको भन्दै शान्ति प्रक्रिया छिटो टुंगो लगाउन माग गरेका हुन् ।
उनले भने, ‘संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रूपान्तरण अहिलेको मुख्य कार्यभार हो । छिटो राजनीतिक सहमतिको आधारमा जिम्मेवारी सिफारिस कमिटी गठन गरियोस् । त्यसको सिफारिसको आधारमा सरकारले शान्त प्रक्रियाको काम पूरा गरोस् ।’