मकवानपुर– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन्।
मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिँदैन र सामाजिक न्याय स्थापित गरिँदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघि बढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ,’ उनले भने, ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु। हाम्रो अभियान सफल बन्दै गएको छ।’
भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि उनले स्पष्ट गरे। उनले भने ‘यो सचेतना निकै महत्त्वपूर्ण छ। हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्ने छौँ। यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु।’
नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीकरण स्थापित गर्न खेलकुदको विकास महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्त्वपूर्ण भएको बताए। आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उँचो बन्दै गएको बताए।
बागमतीले खेल पूर्वाधारलाई महत्त्व दिएर रंगशाला निर्माण गर्नुका साथै राष्ट्रिय खेलकुद आयोजना गरेकोमा उनले धन्यवाद पनि दिए।
जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न निर्देशन गरे। माओवादीले नेतृत्व गरेका पालिकाहरूले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै उनले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमुना बनाउने गरी पार्टीले केन्द्रले योजना अघि सारेको बताए।