मुगु– जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा प्रथम भएको छ।
सोरुले ६१.२ अंकसहित प्रथम स्थान कायम गर्दा मुगमकार्मारोङ दोस्रो, छायाँनाथ रारा नगरपालिका तेस्रो र खत्याड चौथो स्थानमा रहेका छन्। सोरु गाउँपालिकाले कार्यसम्पादनमा विभिन्न क्षेत्रमा सुधार गर्दै अन्य स्थानीय तहहरूमाथि अग्रता जमाएको हो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय सुशासनको मूल्यांकनमा मुगमकार्मारोङ्गले ९१.५ अंक प्राप्त गरेको छ। वित्तीय सुशासनका सूचकमा मुगमकार्मारोङ्गको अग्रता प्राप्त गर्न सन्तुलित बजेट खर्च, पारदर्शिता र लेखा परीक्षणमा देखाएको सुधार मुख्य आधार बनेको आयोगले जनाएको छ। बजेट कार्यान्वयनमा अनुगमनलाई बलियो बनाएको तथा लेखा पद्धतिको समयमै सुधार गर्नु पनि महत्त्वपूर्ण कारणहरू हुन्।
संस्थागत मूल्यांकनतर्फ पनि मुगमकार्मारोङ्ग ८९ अंकका साथ पहिलो स्थानमा रहन सफल भएको छ।
आयोगका अनुसार यस्ता मूल्यांकनले स्थानीय तहलाई सुशासन सुधार्न थप प्रोत्साहन दिनेछन्। मूल्यांकनको आधारमा आयोगले अगामी वर्षका लागि थप सुधारका उपायहरू सुझाएको छ। यी उपायहरूले स्थानीय तहहरूले आफ्नो कमजोर पक्ष सुधार्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
वित्तीय सुशासन र संस्थागत सुधारलाई थप सुदृढ गर्दै जनताको हितमा सेवा प्रदान गर्न सबै स्थानीय तहहरूलाई समान रूपमा सक्षम बनाउनु महत्त्वपूर्ण रहेको आयोगले विशेष रूपमा जोड दिएको छ।