रौतहट- डा. सिके राउत नेतृत्वको जनमत पार्टी केन्द्रीय उपाध्यक्ष अब्दुल खान, जिल्ला इन्चार्ज शेख जमसैदलगायतका नेताले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
शेखलगायत नेताले सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।
पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री खानसहित नेता र जिल्ला इन्चार्जले हतियार प्रदर्शनबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु छ।
डिएसपी दीपककुमार रायले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढेलगत्तै छानबिन प्रक्रिया सुरु गरेको बताएका छन्।
जनमतका अध्यक्ष जमसैदको घरमा प्रदर्शन गरिएको दुइवटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ भइरहेको उनले बताए।
छानबिनको क्रममा हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवै जना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।
‘तत्कालका लागि हतियार र मानिसलाई जिल्ला अध्यक्ष जमसैदको जिम्मा लगाएर पठाएको छु, आइन्दा सिडिओ सा’बको निर्देशन अनुसार हुने छ,’ उनले भने। उता सिडिओ हिरालाल रेग्मीले प्रहरीले सुरु गरेको अनुसन्धान पूरा भएपछि उचित सुझाव दिने बताएका छन्।
उपाध्यक्ष खान गौर नगरपालिका सबगढा गाउँस्थित जमसैदको घरमा शनिवार भेटघाट गर्न पुगेका थिए। सोही क्रममा दुई जना मानिसले ठुलो बन्दुक बोकेको र खानसँगै जमसैद सोफामा बसेका थिए। उनकै घरको प्राङ्गणमा नेताहरू घुमिरहँदा दुवै जना मानिस हतियार बोकेर सँगसँगै हिँडेका थिए।
जनमत इन्चार्ज जमसैदले भेटघाटको फोटो र भिडियो शनिवार सामाजिक सञ्जालमा पाेस्ट गरेका थिए। यसरी खुलेआम हतियार प्रदर्शन गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भएपछि जमसैदले उक्त फोटो र भिडियो सामाजिक सञ्जालबाट हटाएका छन्।
सर्वसाधारणले हतियार प्रदर्शन गर्दा कारबाही हुने र सत्ता पक्षका नेताले त्यही गर्दा कारबाही हुने कि नहुने? भन्दै विरोध भएको छ।