काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ भक्षक हुन पुगेको बताएका छन् ।
समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले संसदको समितिमा विचाराधीन भएका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने बताएका हुन् ।
उनले भने,‘ दुई पार्टी सत्तामा छन्, उनीहरूमा दम्भ सवार भएको छ । त्यो दम्भ सवार भएकाले संविधान, कानुन, सबै जे पनि मिच्न सकिन्छ भन्ने मान्यता विकास भएको छ । कतिपयलाई मूर्ख बनाउन सकिन्छ भनेर मूर्ख बनाउने काम पनि विगतमा गरेका छन् । तर असत्य धेरै दिन टिक्दैन । सबैलाई थाहा छ । संसदको समितिमा विचाराधीन भएका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । कानुनको खुलेआम उल्लंघन गरेर सरकार अगाडि बढेको छ । कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ भक्षक हुन पुगेको छ ।’
उनले संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर अध्यादेश ल्याउने काम गर्नुको पछाडि राम्रो नियत नभएको पनि बताए ।
उनले भने,‘संसदको नियमित अधिवेशनमा कानुनमा सुधार गर्नुछ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद् नै छलेर संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ । यसका पछाडि राम्रो नियत देखिँदैन ।’
उनले पार्टीबाट जानेहरू घर न घाटको भएको भन्दै समय मिलाएर कसैले थाहा नपाउने गरी भेट्ने कुरा भएको पनि बताए ।