जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका निजी अस्पतालहरूको अनुगमनलाई निरन्तरता दिएका छन् । प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहितको टोलीले आइतबार राती जनकपुरधामका विभिन्न नौवटा अस्पतालको अनुगमन गरेका हुन्।
मुख्यमन्त्री सिंहको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टर, ब्रह्मपुरीमै रहेका गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल र जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गरेका छन् ।
अनुगमन गरिएका अस्पतालमध्ये जनक मेमोरियल हस्पिटल,जनकपुर मोडल हस्पिटल जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएका छन् । ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहोरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता नरहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर सोमबार ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।
यस्तै ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत चार वर्षदेखि र साकेतनगरस्थित वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नवीकरण नगराएकाले सोमबार ११ बजे कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।
एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण गराएको छैन । आजबाट बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सिसिटिभीका शनिवार र आइतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिए ।
के भएकाे थियाे ?
आइतबार साँझ मुख्यमन्त्री सिंह अनुगमनको क्रममा जनकपुर मोडल हस्पिटल पुगे । तर, हस्पिटलमा बाहिरबाटै ताला लागेको थियो । भित्र बत्ती बलिरहँदा बिरामीलाई भित्रै थुनेर अनुगमन छल्न बाहिरबाट ताला लगाएको उनलाई शंका लाग्यो ।
मुख्यमन्त्री सिंहले स्थानीसँग सोधपुछ गर्न थाले । एकजनाले गार्डले हस्पिटलमा ताला लगाएर गएको सुनाए । त्यसपछि वीरेन्द्र नामका ती गार्डको नम्बर खोजेर फोन गरे । मुख्यमन्त्रीले आफू एम्बुलेन्स चालक भएको भन्दै बिरामी लिएर आएको बताए ।
फोनमा हस्पिटलका गार्डले अक्मकाउँदै सोधे- तपाईँ को ? मुख्यमन्त्रीले आफू ३११२ नम्बरको एम्बुलेन्स ड्राइभर सरोज भएको बताए । मुख्यमन्त्रीले राम्रो पार्टी (बिरामी) लिएर आएको भनेपछि गार्डले जवाफ फर्काए- अहिले अनुगमन भइरहेको छ । म बिरामी राख्न सक्दिनँ । गोदावरीमा लग्नुस् ।
मुख्यमन्त्री सिंहले गोदावरीले कति दिन्छ ? भनेर कमिशनबारे सोध्छन् । गार्डले भन्छन्- कुरा गरेपछि… ।
जनकपुरधाममा अवैध रूपमा संचालित अस्पताल बिरामी ल्याउने एम्बुलेन्स चालकलाई समेत कमिसन दिन्छन् ।
मुख्यमन्त्री सिंहले एम्बुलेन्स चालक बनेर अस्पतालका गार्डसँग कुरा गरेको भिडिओ ‘सीएम सतिश सिंह’ फेसबुक पेजमा राखेका छन् ।
बन्द अवस्थामा पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशङ्कामा अस्पताल सञ्चालकलाई सिसिटिभी फुटेजसहित बोलाइएको छ ।