जनकपुर– तरकारी बजारमा तरकारी बेचेजस्तै जनकपुरधामको चोक र गल्लीहरूमा खुलेका बिना दर्ता र मापदण्ड विपरीत नीजि विद्यालयहरूलाई कानुनी दायरामा ल्याउन जनकपुरधाम उपमहानगरपालिकाले पहल सुरु गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले वडाहरूसँग नीजि विद्यालयहरूको विवरण मागेको छ । उपमहानगरको शिक्षा तथा खेलकुद शाखाले एक पत्र लेख्दै वडाभित्र सञ्चालनमा रहेका नीजि विद्यालयहरूको विवरण माग गरेको हो ।
उपमहानगरको गत पुस २ गतेको बैठकबाट वडाहरूसँग नीजि विद्यालयहरूको विवरण माग गर्ने निर्णय गरिए पनि सो अनुसार विवरण उपलब्ध नगराइएकाले पुनः फागुन ४ गते पत्र लेख्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन वडाहरूलाई भनिएको छ ।
यसका साथै विवरण संकलन गर्दा ती विद्यालयहरूको अनुगमन गरी कति कक्षासम्मको अनुमति लिएको, कति कक्षासम्म सञ्चालन भइरहेको, विद्यालय सञ्चालनका लागि नियमानुसार अनुमति लिए नलिएको विवरण समेत उल्लेख गर्न उपमहानगरको शिक्षा तथा खेलकुद शाखाका प्रमुख धीरेन्द्रलाल कर्णद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।