काठमाडौं– गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।
सोमबार मन्त्रालयमा पत्रका सम्मेलन गरी मन्त्रालय र मन्त्रालय मातहत निकायबाट पछिल्लो समय भएको कार्य सम्पादन सार्वजनिक गर्दै प्रवक्ता रामचन्द्र तिवारीले कानुनी र नीतिगत रूपमा हामीले बलियो संरचनाहरू तयार नभई गुणस्तर काम नहुने कारण नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
उनले भने, ‘अहिले गृह मन्त्रालयले खास गरेर वर्तमान सरकार र माननीय मन्त्री ज्युले निर्देशन गरेअनुसार गृह मन्त्रालयले अहिले सबैभन्दा पहिले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । जबसम्म कानुनी र नीतिगत रूपमा बलियो संरचनाहरू तयार गर्दैनौ, तबसम्म काममा गुणस्तर हुँदैन । त्यो कामले नतिजा राम्रो दिँदैन भन्ने आधारमा काम गरिरहेका छौँ ।’
उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा देशभर ११ हजार ३३८ सवारी दुर्घटना भएको पनि जानकारी गराए । उनका अनुसार साउनदेखि पुससम्म भएका सवारी दुर्घटनामा परी एक हजार २३३ जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका अनुसार गत वर्षको छ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटना सङ्ख्या घटेको भए पनि मृत्यु सङ्ख्या भने बढेको छ । गत वर्ष साउनदेखि पुससम्म १२ हजार ८५६ वटा सवारी दुर्घटना भएको थियो । जसमा १२ सय ३३ जनाले ज्यान गुमाएका थिए ।
यस वर्ष साउनमा १६२८ वटा सवारी दुर्घटना भएका छन्। जसमा १५२ जनाको मृत्यु भएको छ। भदौमा १६ सय १९ सवारी दुर्घटना भएकोमा १७४ जनाले ज्यान गुमाएका छन् । यसैगरी असोजमा १८सय ७३ सवारी दुर्घटना भएका छन् । त्यसमा २०० सय जनाले ज्यान गुमाएका छन् ।
कार्त्तिकमा १९ सय २८,मङ्सिरमा २ हजार १४ र पुसमा २२ सय ७६ वटा सवारी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा परी कार्त्तिकमा २५८ जना,मङ्सिरमा २५२ जना र पुसमा १९७ जनाको मृत्यु भएको छ ।