काठमाडौं– बागमती प्रदेशभित्रको सवारी साधनहरूको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) को शुभारम्भ भएको छ । यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले डिजिटाइजेशनको शुभारम्भ गरे ।
डिजिटाइजेशनका लागि मन्त्रालयले १०० जना तथ्यांक प्रविष्ट गर्ने कर्मचारीको व्यवस्था गरिएको थियाे। उनका अनुसार छिट्टै प्रदेश भित्रका सबै सवारी साधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी साधनको कर तिर्न सकिने र ब्लु बुक बोक्नु नपर्ने अवस्था निर्माण हुनेछ।
मन्त्री महर्जनले भने, ‘प्रविधिलाई जोड्न सकेमा सुशासन कायम गर्न सहज हुन्छ । त्यसैले यातायात मन्त्रालयले जनताका सेवासँग जोडिएको विषयलाई प्रविधिमा जोड्न लागिरहेको छ । आजको डिजिटाइजेशनले यातायात क्षेत्रमा काम राम्रो हुन नसकेको जनमानसमा भएको भावनालाई चिर्न सफल हुने विश्वास लिएका छौँ । जसका लागि भिआरएसमार्फत डिजिटाइजेशन गर्नका लागि थुप्रै पटक कर्मचारी र डेभलपरसँग बसेर समस्या नआउने गरी कार्य गरेका छौँ ।’
मन्त्री महर्जनले देशमा केही हुनै नसक्ने नकारात्मक भावनालाई रोजगारी र प्रविधिमार्फत हटाउन सकिने भाव व्यक्त गरेका छन् । उनले बागमती प्रदेश भित्रको यातायात क्षेत्रमा लाइसेन्स नागरिक एपमार्फत डिजिटलाइज्ड भइसकेको तथा लाइसेन्स बोक्नु नपर्ने भइसकेको दाबी गरे।
उनले अबको केही समयमा लिखित परीक्षा र सवारी साधन परिचय पत्रको ट्रायलका लागि मात्र यातायात व्यवस्था कार्यालय आउनु पर्ने र अन्य कार्यका लागि अनलाइनबाट गर्न सकिने वातावरण बन्न लागेको जानकारी दिए ।
सांसद् रघुनाथ महर्जनले लामो प्रयासपश्चात् यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको धारणा व्यक्त गरेका छन् । उनले प्रदेशमा अधिकार आएसँगै यातायात क्षेत्रमा लाइसेन्स र ब्लु बुक डिजिटाइज हुने र परिचयपत्र जनताले पाउने वातावरण बनेको धारणा राखेका छन् ।
मन्त्रालयका सचिव बिरेन्द्रदेव भारतीले डाटा इन्ट्रिकर्ताले जतिसक्दो छिटो तथ्यांक प्रविष्टि गर्न सकेमा त्यति धेरै आम्दानी गर्न सक्ने जानकारी दिँदै उनले मन्त्रालयले तर्फबाट यातायात क्षेत्रमा परिवर्तनको आभास गर्न सक्ने गरी कार्य गरिरहेको बताए ।
मन्त्रालयले अधिकतम दुई वर्षभित्र डिजिटाइजेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।