काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय जग्गा हिनामिना गरेर आफ्नो बनाउने नेताहरूको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर जनकपुर क्षेत्रको १ हजार २ सय बिघा जग्गा लुटिएको बताएका हुन् ।
उनले भने, ‘अहिले १४ सय बिघामा २ सय विघामात्रै बाँकी छ । पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय बिघा लुटिसके । त्यससम्बन्धी पटक–पटक आवाज उठाउँदै आएको छु । विभिन्न चरणमा हामी सरकारमा हुँदै गर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि काम गरिसकेका छौँ । अहिले वर्तमान सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु, म आफैँ पनि त्यसमा काम गर्दैछु र आगामी बैठकमा कुन–कुन नेताले कति–कति जग्गा लिएको छ भन्ने जानकारी लिएर उपस्थित हुनेछु ।’
साथै उनले आगामी बैठकमा कति जग्गा कसले ल्याएको छ त्यसका बारेमा जानकारी लिएर नै उपस्थित हुने चेतावनी समेत दिए ।