काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाँधेर राखिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत आयोजना ः लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले १५ खर्ब रुपैयाँ लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् ।
सरकारले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार ५०० विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। यसकोलागि ६२ खर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
नेपाली ऊर्जा उत्पादकहरूले १ मेगावाटबाट सुरु गरेर अहिले क्षमता बढाएर १००–२०० मेगावाटका परियोजना निर्माण गर्न सक्षम रहेको अध्यक्ष कार्कीले बताए । उनले ठुला आयोजनाको लागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताए ।
संसदीय समिति र धितोपत्र बोर्डको कारण सर्वसाधारणलाई दिने सेयर रोकिएको कार्कीको भनाई छ ।
‘सरकारले १० प्रतिशत सेयर स्थानीय तहलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था गरेको छ,’ अध्यक्ष कार्कीले भने,‘स्थानीयले सेयर किन नदिएको भनी उत्पादकहरूको गाडी फुटाउन थालेका छन् । धितोपत्र बोर्डले आइपिओ स्वीकृत नदिएसम्म उत्पादकले त सेयर दिन सक्दैनौँ ।’
लेखा समितिको निर्देशनले आइपिओ निष्कासन रोकिएको बताउँदै उनले अब समितिले नै उक्त निर्णय सच्चाउनु पर्ने बताए ।
‘संघिय सांसदकै लेखा समिति र अर्थ समितिबीच नै मत बँझिएको छ,’ उनले भने,‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानु परेको छ ।’