काठमाडौं– अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले पनि अनुदान रोकेको छ।
नेपालमा विद्युत् प्रसारणलाइन बनाउन ५० करोड अमेरिकी डलरबराबरको अनुदान दिने घोषणा गरेको एमसीसीले फागुन २ गते इमेल पठाएर सबै प्रकारका भुक्तानी रोकेको जानकारी दिएको छ।
नेपालमा एमसीसी परियोजना कार्यान्वयन गर्न एमसीए-नेपाल गठन गरिएको थियो।
‘नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न सम्झौताअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको २०२५ जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशअनुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकी सरकारले २ परियोजना एमसीसी र यूएसएडमार्फत सिधै नेपालमा अनुदान दिने गरेको छ। यसअघि अमेरिकी अनुदान स्थगन घोषणाले नेपालमा सुरु भएको एमसीसी परियोजना नरोकिने अर्थ मन्त्रालयले विश्वास गरेको थियो।
सन् २०१७ सेप्टेम्बरमा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालसँग सम्झौता गरेको थियो। जति बेला ट्रम्पको पहिलो कार्यकाल सुरु भएको थियो। तर कार्यान्वयन भने सन् २०२३ अगस्ट ३० बाट राष्ट्रपति जो बाइडेनको पालामा थालिएको थियो।
एमसीसीले नुवाकोटको रातामाटेदेखि नवलपरासीको बर्दघाटसम्म ४०० केभीको प्रसारणलाइन निर्माण गर्दै छ। एमसीसी बोर्डले सुरुमा ५०० मिलियन डलर सहायता दिएकोमा अहिले थप ५० मिलियन दिने निर्णय गरेको छ।
नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएसँगै अमेरिकाको स्टेट डिपार्टमेन्टले विश्वभर दिइरहेका सबै आर्थिक सहयोग पुनर्विचार गर्ने भन्दै ९० दिनका लागि ‘होल्ड’ गरेको हो। सोसँगै यूएसएड नेपालले यसको जानकारी अर्थ मन्त्रालयलाई दिइसकेको छ।