काठमाडौं– ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण प्रक्रियामा जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै सदरमुकाम फुङलिङ बजारमा जनप्रदर्शन गरिएको छ।
स्थानीय केबुलकारको पक्षमा असम्बन्धित व्यक्ति लागेको भन्दै आक्रोशित स्थानीयले छिटो निर्माण अघि बढाउन पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन्। उनीहरुले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गर्दै प्रदर्शन गरेका हुन्।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति थियो।
पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै विरोध भइरहेको छ।
पाथीभरामा केबलकार निर्माणको प्रयास चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको थियो।
आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो।
करिब दुई वर्षअघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै आयोजना निर्माणले गति लिन थालेको छ।
सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतिप्राप्त गरेपछि आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरिएको छ।
आइएमई समूहले सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तब्य बनाउने उद्देश्यसहित २०७९ सालमा केबलकारको ठूलो शेयर लिएर काम अगाडि बढाइएको हो।
कम्पनीले केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न गरिसकेको छ।
केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने काम सम्पन्न भइसकेको छ। केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी निर्माणको काम सुरु भइसकेको छ।