काठमाडौं- नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ ।
संगठनको माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिले मंगलबार मन्त्री गुप्तासँग भेट गरेको हो । विभागीय मन्त्री गुप्तालाई भेट्न संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित पदाधिकारी र उपलब्ध सदस्यहरू मन्त्रालय पुगेका थिए ।
भेटमा मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन र कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । उनले नवनिर्वाचित नेतृत्वसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
भेटमा अध्यक्ष दाहालले रिक्त रहेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पद सङ्ख्या उच्च अदालत पाटनले गरेको फैसलाबमोजिम ४२६ कायम गरी पुनः विज्ञापनका लागि पहल गरिदिन मन्त्री गुप्तासँग आग्रह गरिन् ।
संगठन नेकपा एमालेसम्बद्ध कर्मचारीहरूको संगठन हो । काठमाडौंमा हालै सम्पन्न १२औँ महाधिवेशनले दाहालको नेतृत्वमा ऐतिहासिक कार्यसमिति निर्वाचित गरेको थियो ।