फाइल फोटो
सुनसरी– कोशी गाँउपालिका वडा ६ मा बर्डफ्लू भेटिएको छ। श्री सप्तकोशी कृषि फार्ममा बर्डफ्लू भेटिएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फागुन ६ गते वर्ड फ्लु पुष्टि भएको जनाएको हो।
मन्त्रालयले ४ किल्ला तोकेर बर्डफ्लू नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ।
मन्त्रालयका अनुसार सप्तकोशी कृषि फार्मलाई केन्द्र विन्दु मानी पूर्व पश्चिम उत्तर र दक्षिणमा करिब ५० मिटरको दुरिदेखि ३०० मिटरको दुरीसम्म किल्ला तोकिएको छ।
जिल्लाको अन्य ठाउँमा बर्डफ्लू देखिए यसैगरी नियन्त्रण कार्य संचालन, आवश्यक समन्वय र सहजीकरण तथा सहकार्यको भनिएको छ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका कार्यालय प्रमुख डा. मनोजकुमार महतोले बर्डफ्लु भेटिएको पुष्टि गरे । ‘फर्ममा अण्डा पार्ने ५ सयवटा ठुला हाँस रहेछ । ४५० वटा डेढ महिनाको बच्चा हाँस थियो । आजसम्म ठुलो २५० वटा मरिसक्यो । सानो २ सय ५० वटा मरिसक्यो,’ उनले भने ।
उनका अनुसार सो क्षेत्र शिल गरिएको छ । ‘मन्त्रालयले निर्णय गरिसकेको हुनाले हामी अब भोलि त्यहाँ पुगेर बाँकी रहेका हाँस तथा कुखुरा डिस्पोज गर्छौं,’ महताले भने ।
उनका अनुसार गत फागुन २ गते नमुना परीक्षण गरिएको थियो । उक्त नमुना परीक्षणको क्रममा बर्डफ्लु पुष्टि भएको थियो । हाँसमा सुरुमै लक्षण नदेखिने र एकैपटक मर्ने खालको हुने महतो बताउँछन् । ‘संक्रमित हाँस कुखुराको बथानमा पठायो भने संक्रमणको दर भने तीव्र हुन्छ । उक्त फर्ममा एक दर्जनबढी कुखुरा पनि थियो । अहिले २–४ वटा मात्रै छन्,’ उनले भने । उनका अनुसार अण्डा पारिराखेको हाँसले अहिले अण्डा दिन छोडेका छन् ।