काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिँदै आएको रकम रोक्नुका कारण खुलाएका छन् । उनले यी शीर्षकमा दिँदै आएको रकम ‘ठगी’ भएकाले सहयोग रोकेको अभिव्यक्ति दिएका छन् ।
२० जनवरी २०२५ मा दोस्रोपटक अमेरिकाको सत्ता सम्हालेका ट्रम्पले वैदेशिक अनुदान सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसैक्रममा वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको छ । प्रेस ब्रिफिङमा ट्रम्पले भने, ‘यो फ्रड हो ।’
ट्रम्पले यो अभिव्यक्ति अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा दिएका हुन् । त्यहाँ उनले थप केही कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
यसअघि एलन मस्कले नेतृत्व गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डज) ले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रद्द गरेको थियो । अहिले अमेरिकी सहयोगको एमसीसी परियोजनाका कामको भुक्तानी पनि नेपालमा रोकिएको छ ।
ट्रम्पले नेपालजस्तै भारत, मालदिभ्स, लाइबेरिया, माली, साउथ अफ्रिका लगायत देशलाई दिँदै आएको सहयोग पनि रोकेको जानकारी दिएका छन् ।