काठमाडौं– पशुपति क्षेत्र विकास कोषको जग्गामा केही भू-माफियाहरूको संरक्षणमा आफूलाई पनि सुकुम्वासी भन्ने देवी खरेलले हुकुमवासीको काम गरिरहेको पीडितहरूले आरोप लगाएका छन् ।
बुधवार राजधानीको संवाद डबलीमा पीडित तथा सरोकारवालाहरूले पत्रकार सम्मेलनको आयोजना गरी सुकुम्वासीको नाममा धनाढ्यहरूले हुकुम चलाएको समेत आरोप लगाएका छन् ।
उनीहरूले पशुपति क्षेत्र विकास कोष अन्तरगतको कागेश्वरीमनोहरा नगरपालिका ८ गोठाटारमा रहेको सुकुम्वासी वस्तिको जमिन नियम विपरीत मिलेमतोमा किनबेच तथा प्लटिङ् गरिएको जानकारी गराएका छन् ।
सामाजिक अभियन्ता तारा बरालले सरकारले अव्यवस्थित तथा सुकुम्वासी नागरिकलाई बसोबासको लागि व्यवस्था गरिए पनि पछिल्लो समयमा मिलेमतोमा त्यसको किनबेच हुन थालेको खुलासा गरेकी छिन् । बरालले अव्यवस्थित तथा भूमिहिन्, पीडितहरूको लागि गरिएको बसोबासको व्यवस्थालाई आर्थिक चलखेलको आधार बनाएको जिकिर गरेकी हुन् ।
बरालले देवी खरेल मुख्य भूमिकामा रहेर सम्बन्धित निकायको समेत मिलेमतोमा सो कार्य चलेको बताउँदै भनिन्,‘संस्कृति मन्त्री, पशुपति विकास कोष, स्थानीय तहदेखि भू-माफियासमेत मिलेर सरकारी जग्गा कब्जा गरिहरेका छन्, अव यसको जिम्मा प्रधानमन्त्री केपी ओलीले लिनु पर्छ ।’
माओवादी केन्द्रका नेता छविन्द्रराज कँडेलले सो क्षेत्रमा राजनीतिक अवरणमा वास्तविक सुकुम्वासी पीडितहरूलाई लखेटी केही धनाड्यहरुसँग आर्थिक चलखेल गरिएको बताएका छन् । सामाजिक अभियन्तासमेत रहेका कँडेलले देवी खरेललाई सम्झाउँदा पनि उनले कुरा नसुनेर आफू फस्ने खाडल खनिरहेको ठोकुवा गरे ।
दुर्गा प्रसाईँ अभियानका केन्द्रीय सदस्य कुमार बस्नेतले पशुपति जस्ता पवित्र धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई सरकारी स्तरबाटै मास्न खोज्नु दुर्भाग्य रहेको बताए । सो क्षेत्रबाट अविलम्ब वस्ति हटाउनु पर्ने माग समेत राखे ।
अभियन्ता विष्णु रिमालले कृष्णमया उप्रेती जस्ता वास्तविक पीडितलाई तनाव दिएर हटाउने र दोस्रो मान्छे राखेर आर्थिक लेनदेन गर्नु गैर कानुनी भएको बताए ।
पीडित कृष्ण माया उप्रेतीले विगतमा आफू एक पीडित भएको कारण देवी खरेलले सो ठाउँमा राखेको भए पनि पछि खरेलले माग गरे अनुसारको रकम दिन नसकेपछि आफूलाई हटाउन खोजिरहेको दुखेसो व्यक्ति गरिन् ।