काठमाडौं– गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद नरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठुलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए ।
उनले भने, ‘पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठुलो दबाब परेको छ । मुलुकको आर्थिक स्थिति सुखद नरहेको अवस्था छ । केही समय यतादेखि हामी देशको आर्थिक अवस्थालाई सुधार तर्फ लिएर जाने र मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने काममा लागेका छौ र त्यो काम गर्न चाहन्छौ ।’
यसको साथै, उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको बताए ।
उनले भने, ‘अहिले नयाँ सरकार गठन गर्नको लागि नयाँ समीकरण बनायौँ । नेपाली काङ्ग्रेस र नेकपा एमालेका बीचमा ७ बुँदे सहमति भयो, नयाँ समीकरण भयो र त्यसको आधारमा अहिलेको सरकार बनेको छ जसले सात महिना सम्पन्न गरेको छ । यो सरकार बिग्रिँदो आर्थिक अवस्थालाई सुधार गर्दै मुलुकलाई समृद्धि तर्फ लैजाने उद्देश्यका साथ यो सरकार बनेको हो । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको हो ।’