काठमाडौं– पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्री पर्वका लागि पाशुपत क्षेत्रलाई हराभरा र व्यवस्थित बनाउने कामलाई तीव्रता दिएको छ । यही फागुन १४ गते हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन तीव्र तयारी गरिरहेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर नौ वटा उपसमितिमार्फत व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको छ ।
कोषका प्रवक्ता रेवती रमण अधिकारले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने,‘मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । त्यस अन्तर्गत विभिन्न नौ वटा विषयगत उपसमितिहरूको गठन पश्चात् कोषले महाशिवरात्रि पर्वलाई औपचारिक रूपमा व्यवस्थापन, समन्वय, संयोजन गर्ने काम भइरहेको छ । सुरक्षा, प्रचारप्रसार व्यवस्थापन, साधुसन्तको सेवा, धार्मिक कार्यक्रमलगायतलाई फरक फरक उपसमिति बनाइएको छ,’ उनले अगाडि भने,‘ सरसफाइ, जुत्ता चप्पलको व्यवस्थापन, स्वयम सेवक परिचालन, स्वास्थ्य शिविर व्यवस्थापनका काम अघि बढिसकेको छ ।’
उनका अनुसार कोषमा डेढ करोडको बजेट व्यवस्थापन गरेर काम गरिरहेको छ । ‘कोषको खर्च गर्ने आफ्नै मापदण्ड भएकाले सोही अनुसारको काम गरिरहेका छौँ । विधिभित्र बसेर खर्च गर्नुपर्छ । हाम्रो डेढ करोडको बजेट हो । तर यति खर्चले मात्रै पुग्दैन । अरू संस्थानहरूको पनि सहयोग जुटाउने काम भइरहेको छ,’ उनले भने ।
त्यस्तै उनले दर्शन मार्ग सहज र झकिझकाउ बनाउन बत्तीहरूको जडान भइरहेको जानकारी दिए । साथै सजावटका समानहरू टेन्डर प्रक्रियाबाट बाहिरबाट नै आयात गरिएको र फूलहरू धेरै भारतबाट नै ल्याइने उनले बताए ।
‘थप जनशक्ति परिचालन गरेर सरसफाइ गरिरहेका छौँ । शिव र शक्तिसँग सम्बन्धित कलाकृतिहरू सहितको पेन्टिङ गरिरहेका छौँ,’ उनले भने,‘तर यहाँ आउने सामग्रीहरू टेन्डर प्रक्रियाबाट नेपाल एव भारतबाट नै ल्याउँछौँ । फुल धेरैजसो भारतबाटै आउँछ ।’
दर्शनार्थीहरुलाई सकेसम्म दुःख नपाउन र छिटो एव सुरक्षित तरिकाले दर्शन गर्नेगरी व्यवस्थापनमा ध्यान दिएको पनि उनले बताए । दर्शनका लागि चारवटै ढोका खोल्ने अर्थात् जुन ढोकामा पुगिन्छ त्यही ढोकाबाट दर्शन गर्ने व्यवस्थापन मिलाइने उनले बताए ।
उनले भने,‘दर्शनार्थीहरुलाई सजिलो, छिटो र सुरक्षित रूपमा दर्शन गराउने तयारी भइरहेको छ । दर्शनार्थीहरुले सकेसम्म दुःख नपाउन् र छिटो सुरक्षित तरिकाले दर्शन गर्न पाउन् भन्ने हो । चारवटा लाइनको व्यवस्था गरेका छौँ । मन्दिरको चारवटा ढोका छन्, भगवान शिवको पनि चारवटा मुहार छन् र चारवटै ढोकाबाट दर्शन गर्ने हाम्रो परम्परा छ । शिवरात्रीको दिन चारवटै दर्शन नगरिकन एउटा लाइनबाट नै जुन ढोकामा पुग्नु हुन्छ त्यही ढोकाबाट दर्शन गरेर फर्किने गरी व्यवस्था मिलाएका छौ । एकजना व्यक्तिले चारवटै ढोकाबाट दर्शन गर्न थाल्यो भने धेरै समय लाग्ने भएकाले लाइनबाट जाँदा जुन ढोकामा पुगिन्छ त्यही ढोकाबाट दर्शन गरेर फर्किने गरी व्यवस्था मिलाएका छौ ।’
त्यस्तै उनले मन्दिरको चारवटा ढोका बिहान २ः३० बजे नै खोल्ने र दर्शनलाई छिटो गर्ने हिसाबले काम भइरहेको बताए । एकै पटक ८ देखि १० जनाले एकै पटक दर्शन गर्न सक्ने गरी व्यवस्था गरेको पनि जानकारी दिए ।
ट्राफिक व्यवस्थापनको सन्दर्भमा १३ गते राती १२ बजेदेखि नै कोटेश्वर सिनामंगलसम्मको ठुला गाडीहरू डाइभर्सन हुने, महाराजगन्ज हुँदै आउने सवारी साधनहरू गोपीकृष्ण हलको छेउबाट डाइभर्सन गराइने उनले जानकारी दिए ।
साना सवारी साधनहरू भने नियमित रूपमा सिनामंगलदेखि चाबहिलसम्मको रुटमा सकेसम्म दुइतर्फी नै चलाउने गरी व्यवस्थापन गर्ने उनले जानकारी दिए । यसका साथै निजी सवारी साधनहरू शिवरात्री पर्वसँग सम्बन्धित, सेवाका लागि आएका, स्वयंसेवक र कार्यालयका कामका लागि आउनेहरूको लागि भने पासको व्यवस्था गरिएको छ ।
कोषले साधुसन्तहरुलाई भोजनको व्यवस्था गर्नेहरूका लागि तिलगंगासम्म आउने व्यवस्था मिलाएको, कोषसँग सम्बन्धित आएमा कोषकै प्रांगणमा, सुरक्षासँग सम्बन्धी प्रहरीको क्षेत्रमा र भक्तजनहरू पनि आफ्नै सवारी साधन लिएर आएमा सिफल चौरमा राख्ने गरी पार्किङको व्यवस्था गरिएको छ ।
भक्तजनहरूलाई सजिलोका लागि गत वर्षको अनुभवको आधारमा सार्वजनिक यातायात सुचारु गर्ने प्रवक्ता अधिकारीले जनाएका छन् ।
विगतमा २५ सय, तीन हजार साधुसन्त आउने अपेक्षा राखिएको भएतापनि भारतमा जारी महाकुम्भ मेलाका कारण अपेक्षा गरिएको भन्दा कम आउने सम्भावना रहेको उनले सुनाए ।
‘महाकुम्भ शिवरात्रिकै दिन सम्पन्न हुँदैछ । त्यसैले कतिपय साधुहरू अपेक्षा गरिएको भन्दा कम पनि आउन सक्नुहुन्छ । कतिपयले महाकुम्भमा स्नान गरेर आइसक्नु भएकाले उहाँहरू पशुपतिमा आउने सम्भावना छ । गत वर्ष २५ सय तीन हजारको आसपासमा साधुसन्त आउनु भएको थियो, यसपालि पनि त्यति नै आउनुहोला,’ उनले भने ।
यस वर्षको शिवरात्रिमा १३ गते बिहानको राति २ः३०बजेदेखि ढोका खुल्ने र १५ गते बिहान ६ बजेसम्म पूजा हुनेछ । सात आठ लाख जनाले दर्शन गर्ने अपेक्षा कोषको रहेको छ ।
छिटो दर्शन गराउन थप बाटोहरूको मर्मत र आउने र जाने बाटो फरक गर्दा समयको बचत हुने उद्देश्यले अस्थायी रूपमा बाँस प्रयोग गरेर यस वर्ष थप तीनवटा क्रसिङ पुलको निर्माण पनि कोषले गरेको छ ।
प्रमिला कार्की ÷नेपाल न्यूज बैंक