काठमाडौं– भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आफूहरूमाथि आपराधिक क्रियाकलाप भएको बताएका छन् ।
उनीहरूले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए ।
सुरक्षालाई मध्यनजर राख्दै अनुहार छोपेर शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका उनीहरूले प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानबिन हुनुपर्ने र पीडित विद्यार्थीहरूले न्याय पाउनुपर्ने माग राखे ।
लम्सालको शंकास्पद मृत्युपछिको उत्पन्न भएको परिस्थितिका क्रममा आफूहरूमाथि ज्यादती र अमानवीय व्यवहार भएको गुनासो गरेका हुन् ।
‘पुलिसले मात्रै नभएर त्यहाँको सेक्युरिटी गार्डहरूले पनि कुटपिट गर्न थाले । जति छिटो आफ्नो देश गइहाल भने । आफ्नो देशमा गएर काम गर, खेत खनजस्ता कुरा भनियो,’एक पीडित विद्यार्थीले भने ।
प्रकृतिको मृत्युपछि त्यहाँका शंकास्पद सबैलाई नियन्त्रणमा नलिइएको र उनीहरूमाथि छानबिन नभएको बताए ।
उक्त घटनाले नेपालीहरूको इज्जत गएको र आत्मसम्मानमा चोट पुगेको उनीहरूको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित विद्यार्थीहरूलाई भेटेर उनीहरूको पीडा सुनिदिनु पर्ने उनको माग छ ।
पत्रकार सम्मेलनमा भेला भएका अधिकांश विद्यार्थीले अनुहार छोपेर लम्सालको न्यायको माग गरेका थिए ।