गोरखा- बारपाक सुलिकोट–५ को ताकुमाझ लाकुरीबोटमा रहेको जलकन्यादेबी माध्यमिक विद्यालयमा (उच्च शिक्षा) दस जोड दुई सञ्चालनका लागि ६५ लाखको अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयको ७२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा अक्षयकोष सञ्चालन समितिका अध्यक्ष पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिएका हुन् । स्थानीयहरूबाट दुई वर्षसम्म चलेको अभियानबाट अक्षयकोष सञ्चालन गरिएको हो ।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले दस जोड दुई सञ्चालनको लागि जनस्तरबाट ठुलो रकम उठेको भन्दै सह्राना गरेका । उनले विद्यालयको सर्वाङ्गीण विकासका लागि पालिकाले आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शैक्षिक सत्र २०८० देखि विद्यालयमा ११ र १२ कक्षा सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नीरबहादुर थापाले दाताहरूलाई धन्यवाद दिँदै शैक्षिक गुणस्तरको लागि शिक्षक मात्र नभई अभिभावक पनि चनाखो हुनु पर्ने बताए ।
विद्यालयको ७२औँ वार्षिक उत्सवको अवसरमा विद्यालयले अक्षयकोष सञ्चालन समितिका संयोजक गुरुङ, चन्दादाता हरिजंग दवाडी, टिकादेवी गुरुङ, शारदा भुजेल, राजु खड्का, बिन्दु थापालगायत सबै चन्दा दाताहरूलाई सम्मान गरिएको थियो।
२०५६ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीहरूले एक लाख एक सय सत्ताइस रुपैयाँको छुट्टै अक्षयकोष स्थापना गरेका छन् । सामाजिक सञ्जाल मार्फत देश तथा विदेशमा रहेका साथीबीच रकम संकलन गरी अक्षयकोष स्थापना गरेको संयोजक मधुकर खड्काले बताए ।
अक्षय कोषको ब्याजबाट विद्यालयबाट प्रत्येक वर्षको एसइईमा उत्कृष्ट नजिता ल्याउने एक जना विद्यार्थी र एक जना शिक्षकलाई पुरस्कृत गरिने छ ।