ललितपुर– ललितपुर महानगरपालिका डिजिटलमैत्री बन्दै गएको छ । विशेषगरी घरजग्गा, नक्सा पासमा कागजी प्रणालीबाट दिग्दार भएका महानगरबासी अनलाइन नक्सापास हुन थालेपछि उत्साहित छन् ।
बायोमेट्रिक सिस्टम एव डिजिटल सिक्नेचरमार्फत घरमा बसी बसी घरजग्गा पास गर्ने प्रणालीको विकास गरिएपछि महानगरबासीलाई सहज भएको छ ।
दुई वर्षअघि नै यस्तो प्रणाली अभ्यासमा ल्याउने तयारी थालेको महानगरले ढिलागरी पुस पहिलो हप्ताबाट अनलाइन नक्सा पास प्रयोगमा ल्याएको हो । महानगरका सहरी विकास प्रमुख श्रीकुमार महर्जनका अनुसार उक्त प्रणालीको प्रयोग अन्तर्गत एक महिनाको ट्रायल पिरियड सकिएकाले अब नियमित काम सुरु भएको छ ।
‘एक महिना ट्रायल फेस पनि गरिसकेका छौँ । ट्रायल गर्दा सबै जनाको सकारात्मक प्रतिक्रिया पाएका थियौँ । समस्या केही छैन । कहिलेकाहीँ सफ्टवेयरका कारणले समस्या आउने गर्छ । तर अहिलेसम्म सर्भिस डेलिभर भएको छ । पुसको २ गते महानगरपालिकाको जन्म जयन्तीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विधिवत रूपमै सुरु गरिसकेका छौँ,’ उनले भने ।
यसको साथै, उनले पुस २ गतेबाट सुरु भएको काम अहिलेसम्म अस्थायी रूपमा दर्ता भएका फाइलहरू ६० देखि ७० वटा पास भइसकेको बताए । उनले अनलाइनमा डिजिटल सिग्नेचरमा खासै ठुलो विषय नभएको बताए ।
उनले नक्सा पास गर्दा इन्जिनियरको सहयोग र सुझाव आवश्यक पर्ने बताए । पहिला सिग्नेचर(हस्ताक्षर) कापीमा गर्ने गरेको तर अहिले बायोमेट्रिकमार्फत हुने र यस्तो सिक्नेचर नक्सा पासको लागि मात्र नभई अन्य काममा पनि प्रयोग हुने बताए ।
नक्सा पासको लागि डिजिटल सिग्नेचर लिनैपर्छ भनेर जनतालाई बाध्य नबनाए पनि डिजाइनरले भने बायोमेट्रिक गराएर मात्र नक्सा पेस गर्ने व्यवस्था गरिएको पनि महर्जनको भनाई छ । बायोमेट्रिकमा तीनवटा फिचरहरू थम, सिग्नेचर र फेसको व्यवस्था गरिएको उनले जानकारी दिए ।
‘डिजिटल सिग्नेचरको लागि अहिले पेन्ड्राइभ सिस्टममा नै छ, यसमा आफ्नो पासवर्ड भएपछि जुन ठाउँमा बसेर पनि प्रयोग गर्न सकिन्छ । जो मान्छे विदेशमा बसेर नक्सा पास गर्न चाहन्छन् त्यस्तो मानिसको लागि पेन्ड्राइभ सिस्टम एकदमै सजिलो भएको छ, उनले भने ।
महर्जनका अनुसार अनलाइनमार्फत निवेदन दिएपछि इमेलमार्फत सफ्ट टोकन भनेर उपलब्ध गराउने व्यवस्था छ तर त्यसको लागि भने एउटा पासपार्टको म्याद भएको फोटोकपी, दोस्रो भिसाको कपी र अर्को एराइबलको पेपर भएपछि नेपाल बाहिर बसेर नक्सा पास गर्न आवेदन लिन सकिन्छ ।
अनलाइनबाट नै पेमेन्ट गर्ने व्यवस्था भएपछि नेपाल बाहिर बसेर पनि नक्सा पास गर्ने काम सुरु भएको अवस्था छ । भौतिक रूपमा नगरपालिकामा नै आउनुपर्छ, भन्ने अवस्थाबाट ललितपुर महानगरपालिका बासीलाई मुक्त गराएर ठुलो उपलब्धि गराइएको महर्जनको भनाई छ ।
अनलाइन प्रणालीले नगरपालिकालाई तिनुपर्ने करहरू तिर्न पनि भौतिक रूपमा उपस्थित हुनुपर्ने सजिलो भएको छ भने नक्सा पासको पेपर मेलमा फरवार्ड(पठाउनु) गरेपछि नगरपालिका आउनुपर्ने झन्झट पनि नहुने उनको भनाइछ । नयाँ प्रविधि भएर स्वीकार गर्न गाह्रो भए पनि यसले कामहरूलाई एकदमै सहज बनाउने विश्वास पनि महानगरले लिएको छ ।
महानगरले नक्सा पास गरी भवन बनाइरहँदा पनि परिवर्तन गर्नुपर्ने कुरा र नक्सा पास नगरी घर बनाउने अवस्थाको लागि भने कार्यविधि पास गरेर प्रकाशन गरेको महानगरले जनाएको छ । यसको लागि फागुनको आठ गतेबाट विधिवत रूपमा निवेदन स्वीकार गर्ने काम पनि सुरु भएको छ ।
नक्सा पासको लागि महानगरमै आउनु नै पर्छ भन्ने जरुरी पनि छैन । यसका लागि डिभाइस पनि उपलब्ध गराइएको छ । त्यसको अलवा प्रत्येक वडामा पनि एक एक वटा डिभाइसहरु उपलब्ध गराइएको छ । वडाबाट पनि बायोमेट्रिक गरेर पठाउन मिल्छ ।
घरधनी आफैँले पनि आफ्नो काम कहाँ पुग्यो, किन रोकियो, कति दिन रोकियो, कसले रोक्यो भनेर सबै हेर्न मिल्ने व्यवस्था पनि भएको हुनाले अनियमितताको पाटो हटेर पनि उनको विश्वास छ ।
नेपाल सरकारको सर्भर प्रयोग गरिरहेको महानरले चाँडै आफ्नो अलग्गै सर्भरको डिजाइन गर्ने पनि उनले जानकारी दिए । नक्सा पास र राजश्व संकलन अनलाइनबाटै हुने भएकाले सेवाग्राहीलाई सहज भएको ।