काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद् बैठक आह्नवान भएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय होला भन्ने चर्चा सुरु भएको छ । सरकारको निर्देशन नमानेको भन्दै घिसिङ विरुद्ध सरकार रुष्ट छ ।
उर्जामन्त्री दीपक खड्काले केही दिन अघि सांसदमै कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको बताएका थिए ।
स्रोतका अनुसार केही दिन पहिला नै मन्त्री खड्काले घिसिङलाई हटाउन प्रस्ताव मन्त्रिपरिषद्मा लगिसकेका छन् । सो कुराको सूचना पाएपछि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सरकार षड्यन्त्रपूर्वक कुलमान हटाउन लागिपरेको बताउँदै आएको छ ।
आजको बैठकमा पनि यस विषयमा छलफल हुन सक्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
सञ्चारकर्मीहरूले केही दिनअघि सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सोध्दा उनले ‘ऊर्जा मन्त्रीलाई नै थाहा होला’ भनेर संसद् भवनबाहिर प्रतिक्रिया दिएका थिए।