काठमाडौं– ललितपुर महानगरपालिकाले लगनखेलको चोकमा रहेका भवनहरू भत्काउने काम सुरु गरेको छ ।
ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरूलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सोमबार लगनखेलस्थित पोखरी संरक्षणका लागि भवन भत्काएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिएका छन् ।
उनले लगनखेलको चोकमा रहेको पोखरी छोपिएकाले भवनहरू हटाएर पोखरीलाई सबैले हेर्न सक्ने बनाउनको लागि भत्काएको बताए ।
उनले भने, ‘ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरूलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सप्तपातल पोखरी बनाइरहेका छौँ । सँगै राजदलले लिइराखेको लगभग ३० रोपनी क्षेत्रफलमा रहेका तीन वटा पोखरी पनि फिर्ता लिएका छौ । त्यसको पनि संरक्षण भइरहेको छ । यसै सन्दर्भमा लगनखेल चोकमा रहेको ऐतिहासिक पोखरी छोपिएको अवस्थामा छ । यहाँभित्र पोखरी छ भन्ने कुरा सायद धेरैलाई थाहा छैन होला । यसलाई सुधार गर्दैछौ । तर पोखरीलाई बटुवाहरूले कति ठुलो पोखरी रहेछ भनेर देख्न पाउन भनेर काम गरेका हौँ ।’
यसको साथै, उनले उक्त स्थानमा वडा नं ५ को कार्यालयलगायतका भवनहरू रहेको पनि बताए ।
उनले भने, ‘यही ठाउँमा वडा नं ५ को कार्यालयलगायतका भवनहरू धेरै पहिलादेखि बनिरहेको हुनाले ती भवनहरू सबै भत्काउदैँछौ । यहाँ रहेको निहुँ पुरुको बारेमा धेरै मान्छेलाई थाहा छैन । यस्तो ऐतिहासिक निहुँ पुखु छ तर छोपिएको अवस्थामा भएको कारणले कसैले देखेको छैन । त्यसकारण अब यो सबै भवनहरू हटाएर पोखरीलाई राम्रो बनाउँछौ ।’